ल्हारक्याल प्रकरण : एमाओवादी विवाद छताछुल्ल

127
  •  
  •  
  •  

काठमाडौं, २८ माघ (ओएनएस) :  एमाओवादीको कोटामा ल्हारक्याल लामा सभासदमा नियुक्त भएपछि एमाओवादी भित्रै विवाद चर्किएको छ । पार्टी नेतृत्वको नियर्णप्रति एमाओवादीका दुई नेताहरुले सार्वजनिक रुपमै विरोध जनाउनुका साथै केन्द्रीय कमिटिलाई झुक्याएको आरोप लगाएका छन् ।

लामालाई सभासद बनाएकोमा पछिल्लो पटक स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले असन्तुष्टि जनाए । गृह जिल्ला बाग्लुङमा बुधबार भएको कार्यक्रममा पौडेलले लामालाई सभासद् बनाउन पार्टीमा कुनै छलफलसमेत नभएको बताउँदै असन्तुष्टि प्रकट गरे । उनले नेताहरु राजधानी बाहिर प्रशिक्षणमा रहेको बेला झुक्याएर यस्तो निर्णय भएको जनाउँदै विरोध गरे ।

यस्तै मंगलबार एमाओवादीका सभासद प्रभु साहले लामालाई सभासद नियुक्त गरिएकोमा आपत्ति जनाएका थिए । साहले केन्द्रीय समितिको फर्जि हस्ताक्षर गरेर सिफारिस गरिएको गम्भिर आरोप लगाएका थिए । उनले मधेशी दलीतको कोटा खोसेर मालदार तथा विवादास्पद ब्यक्तिलाई सिफारिस गरिएकोमा पार्टीले छलछामपूर्ण र भद्दा निर्णय गरेको आरोप लगाए थिए ।

यसअघि एमाओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै लामाको बचाउ गरे । शर्माले अर्थराज्यमन्त्री बनाएको बेला पार्सपोर्ट विवाद भएको तर पछि त्यसबारे भएको छनविनले सफाई दिइसकेकोले विवाद नगर्न आग्रह गरेका थिए । साथै समानुपातिक उम्मेदवारमा जनजाति तथा बौद्ध समुदायको तर्फबाट विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले सिफरिश गरेको भनि शर्माले स्पष्टीकरण दिएका थिए ।

वरिष्ठ नेता बाबुराम भट्टराईले पनि लामाको नियुक्तलाई बचाउ गरे । उनले समाजिक सञ्जाल ट्वीटरमा ‘ संविधानसभाकै अपहरण्ँ गरेर ०४७ को संविधान नया गाता सहित जारी गर्ने प्रतिगामी हर्कतभन्दा ठुलो हो त? कागको पछि नदौडौं ’ भन्दै ट्वीट गरेका थिए ।

[box type=”shadow” ]

[/box]

यसअघि निर्वाचन आयोगले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै लामालाई एमाओवादीको सिफारिशमा सभासदमा नियुक्त गरेको थियो । शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य पदमा वाहाल रहेको अवस्थामा सभासद चयन भएपछि उनको पद रद्द थियो । उक्त रिक्त स्थानमा भएपछि माओवादीले लामालाई सिफारिश गरेको थियो ।

तीन वर्षअघि एमाले कोटामा अर्थ राज्यमन्त्री बनेका लामामाथि विभिन्न आरोप लागेको थियो । विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका थिए । लामामाथि नेपालसहित विभिन्न तीन देशको नागरिकता लिएको तथा स्वतन्त्र तिब्बत आन्दोलनमा सहभागी भएको आरोप लागेपछि छानविन आयोग गठन भएको थियो ।

छानविन आयोगले लामालाई सफाइ दिएपनि सत्यतथ्य प्रतिवेदन बाहिर ल्याउन नसकेको आरोप लाग्दै आएको छ । छानविन आयोगलाई परराष्ट्र मन्त्रालयले आवश्यक प्रमाण दिन आनाकानी गरेपछि लामामाथि लागेको आरोप पुष्टि हुन नसकेको बताइएको छ ।

आफूमाथि आरोप लाग्दा पनि चुप बसेपछि एमालेसँग रुष्ट बनेका लामा संविधानसभा निर्वाचन ताका एमाओवादीमा प्रवेश गरेका थिए । त्यसयता लामा एमाओवादी अध्यक्ष प्रचण्डसँग नजिक छन् ।


  •  
  •  
  •