सर्वाेच्चको फैसलाबिरुद्ध सबै माओवादीले आन्दोलन गर्ने

149
  •  
  •  
  •  

काठमाडौं,  ८ चैत (ओएनएस)  : विभाजन भएर पाँच पार्टी बनेको माओवादीको संयुक्त बैकठले सर्वाेच्च अदालतले गत फागुन १४ गते गरेको फैसलाबिरुद्ध आन्दोलन गर्ने भएको छ ।

पार्टी एकताको लागि नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा आइतबार बसेको बैठकले सर्वोच्चको फैसालबिरुद्ध एक भएर आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

बैठकपछि नेकपा–माओावादीका उपाध्यक्ष सीपी गुजुरेलले चैत १४ गते सर्वाेच्चको फैसलाबारे अन्तरक्रिया गर्ने र २४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिए । यसअघि सर्वाेच्चले द्वन्द्वकालिन घटनाका दोषीलाई आम माफी दिन नपाउने फैसला सुनाएको थियो ।

यस्तै, सर्वाेच्चले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग ऐनका केहि विवादित अंश खारेज गरिदिएको थियो । उक्त फैसला लगत्तै एकीकृत माओवादी र नेकपा–माओवादी विज्ञप्ति निकालेर विरोध जनाएको थियो । सर्वाेच्चले द्वन्द्वका घटनाका दोषीलाई कारवहि गर्ने आशयको फैसला गरेपछि माओवादीले शान्ति सम्झौताको उल्लंघन भएको बताउँदै आएको छ ।

बैठकले पार्टी एकताको लागि वार्ता निरन्तर गर्ने पनि निर्णय गरेको छ । छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई, नेकपा(माओवादी अध्यक्ष मोहन वैद्य, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा माओवादीका अध्यक्ष मातृका यादव र मणि थापासहित पाँचै माओवादीका नेता उपस्थित थिए।

त्यसअघि पार्टी एकताबारे एकीकृत माओेवादी र नेकपा–माओवादीबीच बनेको वार्ता समितिको पहिलो बैठकले सातबुँदे सिद्धान्तलाई छलफल गर्दै पार्टी एकतालाई अघि बढाउने निणर्य गरेको थियो । सात बुँदे सिद्धान्त अघि सार्दै नेताहरुबीच विगतमा भएका कमीकमजोरी सच्याउँदै अघि बढ्नेबारे छलफल भएको बैठकपछि नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले बताए ।


  •  
  •  
  •