काठमाडौं, २८ पुस (ओएनएस) : एमाओवादीले संविधान जारी गर्न तोकिएको अन्तिम मिति माघ ८ को समयसीमालाई सार्न प्रस्ताव गरेको छ ।
संविधानको विवादित विषयमा सहमति जुटाउन सोमबार विहान सिंहदरबारमा बसेको चार दलको बैठकमा एमाओवादीले विवादित विषयमा सहमित गर्न नसकिए माघको समयसीमा सार्दै अर्काे मिति तोक्न प्रस्ताव गरेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
विनानिश्कर्ष बैठक सकिएपछि पत्रकारहरुलाई पौडेलले भने ‘विपक्षी दलले माघको मिति सार्दै अर्काे मिति तय गर्न प्रस्ताव गर्नुभएको छ । तर हामी सहमति नभए प्रक्रियाबाट भएपछि संविधान जारी गर्ने पक्षमा छौ । ’ उनले अझै पनि दलहरुबीच सहमतिको प्रयास जारी रहने बताए ।
यता एमाओवादीका अध्यक्ष प्रचण्डले बैठकमा सकारात्मक कुरा भएको जनाए । उनले दलहरुबीच सहमतिको प्रयास गर्न थप छलफल गर्ने बताए । अन्तरिक छलफलपछि फेरि पनि सहमतिको लागि प्रयास गर्ने प्रचण्डले बताए ।
दलहरुबीच राज्य पुनःसंचरना, शासकीय स्वरुप, न्याय प्रणाली लगायतका विषयमा विवाद बढ्दै जादा माघ ८ मा संविधान आउने संभावना कमजोर बन्दै गएको छ ।