माओवादी पूर्ब लडाकु आधुनिक हतियार सहित पक्राउ

300
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) : एकीकृत माओवादीका पूर्ब लडाकु संगम रोका एके ४७ राईफल सहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँ चुच्चेपाटी बौद्धबाट रोकालाइ पक्राउ गरेको हो ।

उनलाइ अवैध हातहतियार खरखजाना राख्ने तथा डाँका लगायत विभिन्न अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । रुकुम जिल्ला हुकाम–९ घर भई हाल काठमाडौँ इचङगुनारायण–९ डेरा गरी बस्ने रोकाको कोठाबाट चरेश जस्तो पदार्थ ९३ ग्राम समेत बरामद गरेको जनाएको छ ।

गतबर्षको साउन २० गते डोल्पा जिल्ला साल्दाङ गाविसको सुम्दे भन्ने स्थानमा यार्सागुम्बा ब्यापारीबाट ६ करोड ३७ लाख लुटपाट गर्ने कार्यमा रोका मुख्य योजनाकार रहेको प्रहरीिले बताएको छ । उक्त घटनामा एके ४७ राईफल, कटुवा पेस्तोल, माउजर र एम १६ राईफल जस्तो हतियारहरुको प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

गत जेठ १६ गते सिन्धुपाल्चोक जिल्ला बाह्रविसे–४ बस्ने हर्कबहादुर पाख्रिन तामाङको ज्यान मार्ने घटनामा समेत रोकाको संलग्नता रहेको प्रहरीले जनाएको छ । साउन १ गते सिमा प्रहरी चौकी धारापानी मनाङको चेक जाँचको क्रममा नविन रोका र उजर रोकाबाट जफत भएको एके ४७ राईफल, चाईनिज पेस्तोल १ डोल्पामा लुटपाटका क्रममा प्रयोग भएको खुल्न आएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


  •  
  •  
  •