प्रचण्ड भन्छन् : अहिलेसम्म प्रतिकात्मक, अब ‘फोर्सफुल’ आन्दोलन गछौं

330
  •  
  •  
  •  

काठमाडौं, १८ माघ  (ओएनएस) : संविधानसभामा प्रश्नावली निर्माण समिति गठन भएपछि सत्तापक्षबिरुद्ध रुष्ट बनेको विपक्षी दल एमाओवादीले देशव्यापी रुपमा ‘फोर्सफुल’ आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टीका तीन मुख्य नेतालाई देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा आन्दोलन परिचालन गर्न खटाउने निर्णय गरेको उसले सत्तापक्षले पेलेरै जाने रणनीति लिए संविधानसभाबाट बिहिरिनेसम्मको निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले पूर्व क्षेत्रमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मध्य क्षेत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पश्चिम क्षेत्रमा नेता बाबुराम भट्टराई नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले सत्तापक्षले जबरजस्ती रुपमा संविधानसभामा प्रक्रिया सुरु गरेको भन्दै आन्दोलनमा जानु परेको बताए । प्रचण्डले सत्तापक्षले सहमतिको रोडम्याम ल्याए वार्ता गर्ने तर त्यसको लागि सभाध्यक्षले माघ ११ मा प्रश्नावली समिति गठन गर्ने निर्णय फिर्ता हुनुपर्ने बताए ।

अहिलेसम्म प्रतिकात्मक अब ‘फोर्सफुल’

प्रचण्डले केन्द्रीय समितिको बैठकको दौरान अहिलेसम्म प्रतिकात्मक आन्दोलन गरेको बताउँदै अबको आन्दोलन ‘फोर्सफुल’ हुने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनले अब गाँउ–गाँउमा सत्तापक्षबिरुद्ध भण्डाफोर गर्नको आग्रह गरेका थिए । त्यसको लागि माओवादीले सबै जिल्लामा आन्दोलन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको छ भने सबै सभासदहरुलाई गाँउमा पठाइनेछ । आन्दोलनमा सहभागि हुन सबै कार्यकर्तालाई आह्वान गर्ने तथा आन्दोलनमा नआउने कार्यकर्ताको सदस्यता खारेज गर्न निर्देशन भएको ती केन्द्रीय सदस्यले बताए । ‘सभाध्यक्षको कदमलाई भण्डाफोर गर्न अब गाँउ–गाँउमा हाम फाल्नुपर्छ । ’ प्रचण्डको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

संविधानसभाबाट बाहिरिन सक्छौ

प्रचण्डले सत्तारुढ काँग्रेस–एमालेले पेलेरै जाने रणनीति लिए संविधानसभाबाट बाहिरिन सक्ने बैठकमा बताएका थिए । उनले काँगे्रस–एमाले एकलौटी रुपमा अघि बढ्न खोजे निर्णयक आन्दोलन गर्नको लागि संविधानसभाबाट बाहिरिनु पर्ने बताएका थिए । प्रचण्डले पत्रकार सम्मेलनम पनि संविधानसभाबाट बाहिरिन सक्ने बताउँदै भने ‘संविधानसभा तत्काल छाड्ने भनेको होइन, तर सत्तापक्षले एकलौटी निर्णय गरे नफकिर्न पनि सक्छौं ।”

हामीबाट गल्ति भएको हो

प्रचण्डले  बैठकमा आफुहरुबाट गल्ति भएको स्वीकार गरेका थिए । ‘हामीबाट  रेग्मी सरकार लगायतका प्रकरणमा गल्ति भएको हो, सरकारमा छँदा पनि हामी चुक्यौ । अब हामीले जनतासँग माफी माग्दै आन्दोलन गर्नुपर्छ ’ प्रचण्डको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ‘ तर संघीयताका लगायतका सवालमा हामीले गल्ति गरेका छैनौ । ’

उत्तर दक्षिणको साथ

छिमेकी मुलुकहरु चीन र भारत एमाओवादीप्रति सकारात्मक भएको प्रचण्डले केन्द्रीय समितिको बैठकमा बताएका थिए । साथै यूएन, ईयू लगायतका कुटनीतिक नियोग पनि सहमतिमै संविधान आउनुपर्ने पक्षमा रहेकोले माओवादीको आन्दोलन सहि भएको प्रचण्डले बैठकमा बताएको ती केन्द्रीय सदस्यले जानकारी दिए । चीन र भारतले प्रक्रियामा भन्दा पनि सहमतिमा संविधान आउनुपर्छ भन्नेमा जोड दिइरहेकोले एमाओवादी कदममा विदेशको पनि साथ रहेको भन्दै प्रचण्ड हौसिएका थिए ।

पार्टी एकताबद्ध भएको दाबी

आफू र नेता भट्टराई मिलेको तथा उपध्यक्ष नारयणकाजीसँग दूरी बढेको भन्ने कुरा प्रचारबाजी मात्र भएको प्रचण्डले बैठकमा बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रचण्डले तीन क्षेत्रमा तीन जनाले कमाण्ड गर्दा पार्टी झन् बलियो हुने बताएका थिए । त्यसको लागि सबै साभासदहरुलाई गाँउ पठाएको एमाओवादीले आन्दोलनका ७५ जिल्लामा आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।


  •  
  •  
  •