एमाओवादी बहुपहिचानमा आधारित ६ प्रदेशमा सहमत

148
  •  
  •  
  •  

NC UML
कांग्रेस-एमाले बैठक

काठमाडौं, ६ बैशाख (ओएनएस) : एकीकृत नेकपा माओवादी बहुपहिचानसहित ६ प्रदेशमा सहमत हुनेभएपछि संविधानका विवादीत विषयको गाँठो फुक्ने संकेत देखिएको छ । आइतबार विहान बालुवाटारमा बसेको कांग्रेस–एमालेको बैठकले निर्णायक वार्ता गरेर सहमति नभए प्रक्रियामा जाने निर्णय गरेको थियो । त्यसलगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार साँझ पदाधिकारी बैठक डाकेर छलफल गरेका थिए ।

संविधानमा शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणलीका विवादीत विषयमा टुंगोनजिक पुगेका दलहरु संघीयतामा जाँदा प्रदेशको संख्यामा मात्र अड्कीएका छन् ।

कांग्रेस एमालेले कात्तिक १७ गतेको नौं बुँदे प्रस्तावमा ७ प्रदेशको प्रस्ताव गरेपनि उनीहरुले एकीकृत नेकपा माओवादीले ६ प्रदेशमा जान सकिने भनेपछि त्यसको खाका प्रस्तुत गर्न भनेका थिए । तर, एमाओवादीले त्यसको जवाफ नदिएको भन्दै सोमबार निर्णायक वार्ताका लागि एमाओवादीलाई डाकेका छन् ।

प्रधानमन्त्रीले बोलाएलगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नैं अनौंपचारिक रुपमा पदाधिकारी बैठक बोलाएर छलफल गरे । ‘अध्यक्षले अनौपचारिक छलफलका लागि पदाधिकारी बैठक बोलाउनु भएको थियो’ एमाअ‍ोवादी सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने, ‘हामीले असार मसान्तसम्म संविधान जारी गर्ने डेट लाइन हुने गरी सहमतिमा अघि बढ्न आग्रह गरेकाछौं । ’

उनले प्रदेशको सन्दर्भमा सत्तापक्षले पहिले स्पष्ट हुनुपर्ने बताए । ‘सत्तापक्षले ल्याएको सात प्रदेशको प्रस्तावमा सहमति नभएकै हो’ उनले भने, ‘प्रदेशको सन्दर्भमा सत्तापक्षको एकत्वसहितको कुरा आउनुपर्यो, कात्तिक १७ को प्रस्तावमा के–के परिवर्तन गर्ने हो त्यो स्पष्ट आउनुपर्यो ।’ उनले ६ देखि ९ं प्रदेशमा जाने विषयमा सैद्धान्तिक सहमति भएको भन्दै त्यसमा ६, ८ वा ९, कुनमा अडिने भन्ने सत्तापक्षले नैं स्पष्ट पार्नुपर्ने बताए ।

‘हामी ६ प्रदेशमा जाने हो भने बहुपहिचानमा आधारित भएर जान सकिन्छ भन्ने हो’ पोखरेलले भने, ‘सिमाङकनको सवालमा भुगोल स्पष्ट हुनेगरी शीर्ष नेतृत्वले टुंग्याउने गरी जाने हो भने सहमति हुन्छ ।’

एमाओवादी पदाधिकारी बैठकका पदाधिकारीहरुले अध्यक्ष दाहाललाई ३० दलीय मोर्चाको बैठक पनि तत्काल डाक्न सुझाव दिएका छन् । उनीहरुले सत्तापक्ष निर्णयक मोडमा नजाँदा आन्दोलन निर्णायक मोडमा नगएको भन्दै सत्तपक्ष अघि बढ्योभने आन्दोलन पनि निर्णायक हुने बताएका छन् ।

कांग्रेस–एमाले ६ प्रदेशको प्रस्तावमा ठोस धारणा ल्याउन भनेको र एमाओवादीले पनि बहुपहिचानसहित ५ प्रदेशमा जान सकिने मनस्थितले सहमति टाढा छैन । तर, एमओवादीले भूगोल छुट्टाउने गरी राखेको प्रस्तावले तत्काल सहमति हुन्छ÷हुँदैन अन्योल नैं छ ।


  •  
  •  
  •