प्रधानमन्त्रीको आह्वानप्रति एमाओवादीको नकारात्मक प्रतिक्रिया

97
  •  
  •  
  •  

काठमाडौं, २५ माघ (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले पत्र लेख्दै वार्ताबाट राजनीतिक गतिरोध अन्त्य गर्न आह्वान गरेपछि एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका नेताहरुले नकारात्मक प्रतिक्रिया दिएका छन् ।

सत्तारुढ दलले जबरजस्ती संविधानसभामा प्रक्रिया अघि बढाएको भन्दै रुष्ट बनेको एमाओवादीले देशव्यापी आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्रीले वार्ताबाट सहमति गर्नको लागि पत्रमार्फत आइतबार औपचारिक आह्वान गरेका थिए ।

आन्दोलनको लागि सिराहमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य स्पष्ट नभएको प्रतिक्रिया दिएका छन् । प्रचण्डलाई उनका सहयोगिले प्रधानमन्त्रीको वक्तव्य पढेर सुनाएका थिए । वक्तव्यमा नकारात्मक प्रतिक्रिया दिएपनि ३० दलीय मोर्चासँग वार्ता गर्न प्रचण्ड काठमाडौं फर्किएका छन् ।

नेपालगञ्जमा रहेका एमाओवादीका नेता डा. बाबुराभ भट्टराईले भने कडा प्रतिक्रिया दिएका छन् । भट्टराईले कार्यकर्ता प्रशिक्षणको क्रममा प्रधानमन्त्रीको पत्र पढेर सुनाएको र वार्ता गर्ने कुरा षड्यन्त्र भएको कार्यकर्तालाई बताएका थिए । उनले संविधानको जारी प्रक्रिया बन्द नभएसम्म वार्तामा बस्ने पनि बताएका थिए ।

यसैबीच ३० दलीय मोर्चाले बैठक बस्दै प्रधानमन्त्रीको आह्वानप्रति अपौचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यस्तै एमाओवादीका सचिव वर्षमान पुनले प्रधानमन्त्रीले वार्ताको लागि लिखित वक्त्तव्य जारी हुनु सकारात्मक भएको पनि अमूर्त र अपुरो भएको बताएका छन् ।

पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘यसले सम्वादको ढोका भने अझै खोलेको छैन, वक्त्तव्य अमूर्त अपुरो छ, हामी छिट्टै ३० दलीय मोर्चाको बैठक राखेर आधिकारिक दृष्टिकोण सार्वजनिक गर्छौ, अध्यक्ष प्रचण्ड आज मात्रै काठमाडौं आर्इ पुग्नुभएको छ, छलफल गछौं । तर पनि एउटा वातावरण बनेको छ, यसलाई सदुपयोग गर्ने हो भने सत्तापक्ष यो भन्दापनि बढि जिम्मेवारका साथ सहमतिमा आउनुपर्छ ।’

संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्रीको वक्त्तव्य झारा टार्ने रुपमा आएको भन्दै आफूहरु सत्तारुढ दलसँग यही अवस्थामा वार्तामा नबस्ने स्पष्ट पारेका छन् ।

उनले भने–‘प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा दुई तिहाई बहुमतकै दम्भ छ, उहाँले हामीलाई प्रक्रियामा नै आउनु भनेर स्पष्ट भाषा प्रयोग गर्नुभएको छ, त्यसैले हामी यही अवस्थामा सत्तापक्षसँग वार्तामा बस्दैनौ ।’


  •  
  •  
  •