ओलीका कारण वातावरण भाँडियोः प्रवक्ता शर्मा

85
  •  
  •  
  •  

काठमाडौं, २६ पुस (ओएनएस) :  एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले एमालेअध्यक्ष खड्ग ओलीका कारण दलहरुबीचको सहमतिको वातावरण भाँडिएको बताउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा कोटेश्वरमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । ओली यथास्थितिवाद तर्फ फर्कन खोजेकोले माघमा संविधान आउन नसक्ने शर्माको भनाई थियो । उहाँले ३० दलीय मोर्चा असाध्यै लचिलो भएको बताउँदै शासकीय स्वरुप र संघीयताका बारेमा विकल्पहरुका छलफल गर्न तयार रहेको उललेख गर्नुभयो ।

उहाँले माघ ८ गतेभित्र पूर्णरुपमा संविधान नबने पनि सहमतिको वातावरण बने त्यो महत्वपूर्ण कुरा हो, भन्नुभयो । संविधान घोषणा गर्ने भन्दा पनि अन्तरवस्तुमा सहमति गर्ने कुरा ठूलो भएको उहाँको धारणा थियो । उहाँले संविधान सभाबाट संविधान नबनाई बल र बहुमतको आधारमा बनाउने कुरा आएकाले त्यसका विरुद्ध आन्दोलन गर्नु परेको उहाँको भनाई थियो ।

प्रवक्ता शर्माले सभामुखको अभिव्यक्ति अधिनायकवादी भएकोले नेपाली लोकतन्त्रवादीलाई झस्काएको बताउनुभयो । उहाँले अहिले एमालेको बहुमतले पेलेर जाने रवैयाका कारण सहमतिमा पुग्न नसकिएको बताउनु भयो ।

उहाँले आफूले कुनै चन्द माओवादीलाई बधाई नदिएको बताउँदै आफू एमाओवादी पार्टीमा प्रतिवद्ध भएको प्रस्ट्याउनु भयो । आफूलाई चन्दमा जाने हल्ला चलाएर समाचार प्रकाशित गर्नुको कुनै तुक नरहेको बताउनुभयो ।


  •  
  •  
  •