संविधानसभाले अल्झायो माओवादी एकीकरण

195
  •  
  •  
  •  

काठमाडौं २३ असोज
दसैं बिदाको मौका पारेर एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरणबारे आन्तरिक रूपमा पटक–पटक गम्भीर छलफल र बहस भए पनि संविधानसभा बाहिर कि भित्रै एकता गर्ने भन्ने विषयमा मतैक्य हुन सकेको छैन।

पार्टी एकीकरण प्रयास गरिरहेका दुई माओवादी दलमा संविधानसभाबारे दुई धार देखिएको छ। गत आइतबार एक कार्यकर्ताको थापाथलीस्थित निवासमा भएको छलफलमा दुवै पार्टीका शीर्ष नेताले संविधानसभाबारे प्रस्ट रूपमा फरक दृष्टिकोण राखेका थिए। एमाओवादीका नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले संविधानसभाबाट संविधान बनाउने सर्तमा मात्र पार्टी एकता हुन सक्ने अडान राखेका थिए भने अन्य नेताले भने ‘आवश्यकता परे’ बाहिरिएर पनि एकता गर्न तयार हुनुपर्ने धारणा राखे।
‘संविधानसभाबाट संविधान बनाउने सर्तमा मात्रै पार्टी तत्काल एकता हुन सक्छ, त्योभन्दा दायाँबायाँ गरेर पार्टी एकीकरण हुन सक्दैन,’ बैठकमा सहभागी नेता श्रेष्ठले नागरिकसँग भने, ‘संविधानसभाबाट संविधान लेख्ने कुरामा चोचोमोचो र छलछाम गरेर पार्टी एकता हुन सक्दैन भन्ने कुरा मैले त्यहाँ राखेको हुँ।’
संविधानसभा बाहिर गएर पार्टी एकीकरण गर्नु दुवै माओवादीका लागि सबैभन्दा आत्मघाती र प्रत्युत्पादक हुने उनले बताए। संविधानसभाबाटै प्रगतिशील तथा अग्रगामी संविधान बनाउन दुवै माओवादीले जोड गर्नुपर्ने श्रेष्ठको भनाइ छ।
‘पहिलो कुरा संविधानसभाबाटै संविधान बनाउने हो,’ श्रेष्ठले बैठकमा भनेका थिए, ‘संविधान निमार्ण भएपछि कसरी क्रान्तिलाई अगाडि लाने? त्यो रणनीति बनाउँला, तर अहिले संविधान नै नबनाईकन दायाँबायाँ लाग्ने काम हुन्न।’ त्यसैगरी अर्का नेता भट्टराईले पनि संविधानसभाभित्रबाट संविधान बनाउने भन्दा अर्को कुरा कल्पना पनि गर्न नहुने धारणा राखेका थिए।
संविधानसभाको औचित्य नभएको भन्दै बिघटनको माग गर्दै आएको वैद्य माओवादीसँग एकीकरणका लागि ‘आवश्यकता परे’ संविधानसभा छाड्न अध्यक्ष पुष्पकमल दाहाल तयार देखिएको आंशका भट्टराई र श्रेष्ठ दुवैले गरेका छन्। स्रोतका अनुुसार दसंैअघि अर्थात अष्टमीका दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यबीच पार्टी एकीकरणका विषयमा चार घन्टा एकान्त वार्तालाप भएको थियो। धोबीघाटस्थित महासचिव कृष्णबहादुर महरा निवासमा भएको उक्त भेटघाटमा अन्य नेतालाई प्रवेश निषेध गरिएको थियो।
स्रोतका अनुसार उक्त गोप्य वार्तालापमा आवश्यकता पर्योब भने अध्यक्ष दाहालले भट्टराई पक्षलाई र वैद्यले सचिव नेत्रविक्रम चन्दलाई छाडेर भए पनि पार्टी एकीकरण गरेरै छाड्ने ‘भद्र सहमति’ गरिसकेका छन्। ‘दाहालले भट्टराईले नयाँ शक्तिको बहस छेडेर समानान्तर कमिटी बनाउँदै हिँडेको तथा उता चन्दले पनि आफूलाई चुनौती दिँदै फरक दस्तावेज पेस गरेर पार्टीभित्र भट्टराईझंै समानान्तर समिति बनाएकाले ‘वाक्कदिक्क’ भएको वैद्यले दुखेसो साटासाट गरेका थिए,’ लाजिम्पाट स्रोतले नागरिकसँग भन्यो।
‘दुवै नेता पार्टी एकीकरण जसरी पनि गर्नेमा प्रस्ट छन्। र, उस्तै पर्योर भने अध्यक्ष (दाहाल) ले बाबुराम र किरण (वैद्य) जीले चन्दलाई छाडेर भए पनि अघि बढ्ने निष्कर्षका साथ दुवै नेता त्यहाँबाट छुट्टिएका थिए,’ दाहालनिकट एक नेताले नागरिकसँग भने।
तर, वैद्यले पार्टी एकीकरणअघि संविधानसभा छाड्नुपर्ने सर्त र दबाब अध्यक्ष दाहाललाई दिइरहेका छन्। धोबीघाट भेटमा अध्यक्ष दाहालले ‘क्रान्ति र पार्टीका लागि आवश्यकता परे आफू तयार रहेको’ मौखिक प्रतिबद्धता पनि जनाइसकेका छन्। उक्त भेटघाटपछि थापाथलीमा दुवै पार्टीका शीर्ष नेतालाई बोलाएर सामूहिक छलफल गरिएको हो।
बैठकमा उपस्थित माओवादी उपाध्यक्ष सिपी गजुरेलले भने दुई पार्टीबीचको तत्काल एकीकरणको विपक्षमा प्रस्ट रूपमा उभिँदै जारी कार्यगत एकतामै जोड गरेका थिए। ‘हिजो एमाओवादीले क्रान्ति र आन्दोलनलाई धोका दियो भनेर हामी अलग भएका हौं,’ गजुरेललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आज एमाओवादीले त्यस्तो के काम गरेको छ, पार्टी एकता गरे पनि फरक पर्दैन त?’ अध्यक्ष दाहाल संविधानसभाभित्र कमजोर हुँदै गएपछि एकीकरणको प्रस्ताव लिएर आएको गजुरेलको भनाइ थियो।
माओवादी सचिव चन्दले पार्टी एकीकरणको विपक्षमा नउभिए पनि ‘पुरानो नेतृत्व टिम’ का भरमा अघि जान नसकिने धारणा राखेका छन्। ‘पार्टी एकीकरण गर्ने कुरा ठिकै हो, तर एकीकरणपछि गर्ने चाहिँ के हो? त्यो पहिला प्रस्ट हुनुपर्छ,’ चन्दले बैठकमा भने, ‘र, पुरानो नेतृत्व टिमबाट अबको माओवादी आन्दोलन अघि जान सक्छ कि सक्दैन? त्यसको समीक्षा पनि महत्वपूर्ण हुन्छ।’
बैठकमा सहभागी स्रोतअनुसार दाहाल, वैद्य, दुवै पार्टीका महासचिव क्रमशः कृष्णबहादुर महरा र रामबहादुर थापा ‘आवश्यक परे’ संविधानसभा छाडेर भए पनि एकीकरण गर्नुपर्ने पक्षमा छन्। ‘यद्यपि, त्यहाँ मुखै फोरेर संविधानसभा छाड्ने कुराचाहिँ चारै नेताले भनेनन्, तर आशयचाहिँ त्यही नै देखियो,’ वैद्य माओवादीका एक नेताले नागरिकसँग भने, ‘त्यो आशंका देखा परेपछि बाबुराम र नारायणकाजीले ‘बोल्डली’ नै संविधानसभा छाडेर भाग्न नहुने भन्दै संविधान लेखनमा नै जोड गरेका हुन्।’ उनका अनुसार दसंैको समयमा दुवै पार्टीका नेताहरूबीच पार्टी एकीकरण गर्ने सवालमा गम्भीर छलफल र वार्ता भएका छन्।
संविधानसभाप्रतिको दृष्टिकोणमा फरकपना देखा परेपछि तत्कालका लागि कार्यगत एकतामै जोड गर्दै त्यसलाई सक्रिय बनाउने निष्कर्ष नेताहरूले निकालेका छन्। प्रतिक्रान्तिकारीहरू सक्रिय र बलियो हुँदै गएको, तर क्रान्तिकारी शक्तिहरू फुट र कमजोर हँुदै जाँदा क्रान्ति नै अन्योलमा परेकाले पार्टी एकीकरण ऐतिहासिक आवश्यकता हुँदै गएको उनीहरूको निष्कर्ष छ।
मार्क्सवादको विकास र त्यसको सिर्जनात्मक प्रयोगको आवश्यकतालाई प्राथमिकता दिएको उक्त बैठकले आधारभूत वैचारिक लाइन र एकताको व्यावहारिक पक्षमा सबैभन्दा पहिला सहमति जुटाउनुपर्नेमा जोड गरेको छ। ‘पार्टी एकतालाई लक्ष्य बनाएर कार्यगत एकतालाई सक्रिय बनाउनुपर्ने निष्कर्षका साथ छलफल जारी राखेका छौं,’ श्रेष्ठले भने। नागरिकबाट


  •  
  •  
  •