विवाद सुल्झाउन एमाओवादीले बनायो दुई समिति

180
  •  
  •  
  •  

काठमाडौं, २८ असार (ओएनएस) : एकीकृत माओवादीले पार्टी भित्र देखिएको विवाद समाधानका लागि दुई छुट्टा छुट्टै समिति बनाएको छ । शनिवार राजधानीमा बसेको माओवादी स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा वैचारिक बहस व्यवस्थापन समिति र जिल्लामा देखिएको समानान्तर समिति गठनका लागि अर्को छुट्टै समिति गठन गरेको हो ।

‘वैचारिक बहस व्यवस्थापन समिति’मा प्रचण्डका अतिरिक्त नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा र टोपबहादुर रायामाझी रहेका छन् । यस्तै विभिन्न जिल्लाहरुमा देखिएका संगठनात्मक समस्याहरुको बारे यथार्थता अध्ययन गर्न तथा समाधान गर्न सचिव बर्षमान पुन ‘अनन्त’को नेतृत्वमा ३ सदस्यीय कार्यदल बनाईएको माओवादीले जनाएको छ ।

कार्यदलमा बावुराम पक्षीय नेता देवेन्द्र पौडेल र नारायणकाजी पक्षीय विश्वभक्त दुलाल सदस्य छन् । एमाओवादीले श्रावण मसान्तसम्म पुरा गर्ने गरी जिल्ला स्तरको प्रशिक्षण कार्यक्रमहरु तय गरेको छ ।

एमाओवादीले संगठनात्मक कामलाई थप व्यवस्थित गर्न पार्टी नियमावली बनाउन उपाध्यक्ष बोगटीको नेतृत्वमा सचिव रायामाझी, स्थाइ समिति सदस्य हरिबोल गजुरेल, शक्ति ब. बस्नेत र जनार्दन शर्मा रहने एक मस्यौदा समिति बनाएको छ । कुनै पनि पार्टी सदस्यहरु दुई तहको कार्यकारी पदमा नरहने व्यवस्था कार्यविधिमा भएकोले सो अवस्था भएमा कुनै एक पद श्रावण मसान्तभित्र त्यागी एक पद मात्र ठोस जिम्मा लिनुपर्ने माओवादीले निर्णय गरेको छ ।

यस्तै बाँकी जिल्ला सम्मेलनहरु यथाशीघ्र सम्पन्न गर्ने, मनोनयन गर्न र पदाधिकारी चयन गर्न बाँकी रहेका जिल्लाहरुको हकमा २०७१ श्रावण मसान्तसम्म पुरा गरी सक्ने माओवादी स्थाइ समितिको निर्णय छ ।


  •  
  •  
  •