माओवादी केन्द्रले मन्त्रीहरुको नाम सोमबार टुंगो लगाउने

147
  •  
  •  
  •  


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सोमबार टुंगो लगाउने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोमबार पुनः बैठक बसेर यसबारेमा टुंगो लगाइनेछ । गठवन्धनमा सामेत कतिपय दलले सरकारमा सामेल हुने नहुने अझै निर्णय नभएकाले ढिला भएको उनको भनाइ छ ।

बैठकले माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक १० दिन पछि सार्ने निर्णय गरेको छ । साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय कमिटी सदस्यहरुलाई निर्देशन समेत दिएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै बैठकले भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए ।

त्यस्तै बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा जानकारी गराएका थिए । माओवादी स्थायी कमिटी बैठक सोमबार पनि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

दार्चुला घटनाको छानबिन गर्न माग

माओवादी केन्द्रले महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबीन गर्न सरकारसँग माग गरेको छ । यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्ति भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको समाचार सार्वजनिक भएको भन्दै प्रवक्ता श्रेष्ठले सो घटनाको सत्यतथ्य छानबीन गरी भारतीय पक्षसँग गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारवाही गर्न सरकारको ध्यानकर्षण गराइएको बताए ।

महकाली नदीमा तुइन तर्ने क्रममा नेपाली नागरिक बेपत्ता हुनु दुःखद रहेको भन्दै माओवादी केन्द्रले गम्भीर आपत्ति जनाएको छ ।


  •  
  •  
  •