कार्यगत एकताको तयारी

305
  •  
  •  
  •  

काठमाडौं, १ जेठ (ओएनएस) एमाओवादी र अन्य माओवादी घटकबीच कार्यगत एकताका विषयमा छलफल भएको छ ।
अइतवार नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा भएको छलफलमा संवाद तथा वार्ता प्रक्रियालाई अगाडि बढाउँदै तार्किक निष्कर्षमा पु¥याउने निष्कर्ष निकालिएको नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले जानकारी दिए ।

विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, प्रमुख राजनीतिक दलबीचमा विभिन्न कालखण्डमा भएको सहमति विपरीत सत्ताधारी दलहरू अगाडि बढ्न लागेको भन्दै छलफलमा सहभागी माओवादी घटकले पहिलो चरणमा कार्यगत एकताको प्रक्रिया अगाडि बढाउने सहमति गरेका हुन् ।

बैठकले विद्यमान राजनीतिक साझा मुद्दालाई लिएर सहकार्य र आवश्यक विषयमा विचारविमर्श गर्न सहभागी राजनीतिक दलहरूबीच विचार आदानप्रदान गर्ने सहमति भएको महासचिव थापाले जानकारी दिनुभयो ।

बैठकमा संयुक्त संयन्त्रको अवधारणामाथि छलफल भएको र त्यसबारे आवश्यक निर्णय आगामी बैठकमा गर्ने निष्कर्ष निकालिएको छ ।

बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा (माओवादी)का संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायतका शीर्ष नेताको सहभागिता रहेको थियो ।

अर्को बैठक यही असार ७ गते बस्ने र कार्यगत एकतासहितको प्रस्ताव पारित गर्ने निर्णय गरिएको जनाइएको छ ।


  •  
  •  
  •