काठमाडौं २१ माघ (ओएनएस) : एकीकृत नेकपा (माओवादी) का नेताहरूले राजधानी छाड्न थालेका छन् । पार्टीको निर्देशन अनुसार कम्तिमा एक महिनाका लागि भन्दै नेताहरू गाउँ फर्किन थालेका हुन् । एमाओवादीले राजधानी केन्द्रित भएका नेतालाई फागुन दोस्रो सातासम्मका लागि जिल्ला जान निर्देशन दिइसकेको छ ।
एमाओवादी अग्निप्रसाद सापकोटाले फागुनमा मात्रै फर्किने गरि राजधानी छाडेको बताए । शीर्ष नेताहरुले पनि शुक्रबारदेखि राजधानी छोड्ने तयारी गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार मध्य तराइका जिल्लाका आन्तरिक प्रशिक्षणमा जाने तय भएको छ ।
वरिष्ठ नेता बाबुराम भट्टराई पश्चिम नेपाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पूर्वी नेपालको कार्यक्रमका लागि यसै साता जाँदैछन् । त्यसअघि सबै नेताहरु सम्बन्धित जिल्लामा पुगिसक्ने छन् ।
दोस्रो तहका नेताहरु आवश्यकता अनुसार राजधानी आउने र जिल्ला फर्किने गरि आन्तरिक निर्देशन गरिएको छ । शीर्ष तहका नेताहरू सकेसम्म जिल्लामै रहनेछन् ।