काठमाडौं २१ माघ । ‘म त पोखरा खटिएको छु। अब आन्दोलनमा हिँडे’, मंगलबार अपराह्न संविधानसभा सचिवालय सिंहदरबार पुगेका एमाओवादी नेता डा. बाबुराम भट्टराई हतारिँदै बाहिरिए। एमाओवादी र मधेसी मोर्चाले संविधानसभा र समितिका गतिविधिमा भाग नलिने अडान राखिरहेकै बेला भट्टराई संसद् सचिवालयमा देखापरेका थिए।
संवाद समितिका सभापतिसमेत रहेका भट्टराई केहीबेर आफ्नो कार्यकक्षमा बसे। संसद्का कर्मचारीले ‘हजुर कता’ भनी प्रश्न गरेपछि आफू आन्दोलनका लागि हिँडेको जबाफ हाँस्दै दिए भट्टराईले।
अघिपछि सभाध्यक्ष सुवास नेम्बाङसँग राजनीतिक भेटघाट र कुराकानी गर्ने गरेका भट्टराई मंगलबार भने सभाध्यक्षको कार्यालयतिर ‘तेस्रो आँखा’ लगाउँदै बाहिरिएका थिए।
भट्टराई पुग्नुअघि एमाओवादी स्थायी समितिका सदस्य शक्ति बस्नेत देखापरेका थिए संसद् सचिवालयमा। निजी कामले सचिवालय पुगेका बस्नेत पनि सभाध्यक्ष नेम्बाङसँग कुराकानी नै नगरी फर्के।
संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलगायत सचिवालयका अन्य अधिकारीसँग सामान्य कुराकानी गरेर फर्केका थिए उनी। पछिल्ला दिनमा वार्ता र संवादका लागि एमाओवादी नेतृत्वलाई घचघच्याउँंदै आएका बस्नेत ‘आफूहरूको अभियान’ जारी रहेको सन्देश प्रवाह गर्दै बाहिरिएका थिए।
सत्तापक्ष सहमतिबाट अघि बढ्न नचाहेको कुरामा एमाओवादी नेतृत्व ‘कन्भिन्स’ भएकाले सहमति गराउन कठिन भइरहेको बस्नेतले बताएका थिए।
संविधानसभा बैठकबारे सभाध्यक्ष नेम्बाङले सोमबार एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलसँग छलफल गरेका थिए। प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिको निर्णय नसच्याएसम्म आफ्नो दल र विपक्षी गठबन्धन वर्तमान प्रक्रियामा सहभागी हुन नसक्ने भनाइ पोखरेलले राखेका थिए।
‘हामी त आफ्नो काम (आन्दोलन) मा जुटेका छौं। के गर्ने भन्नेमा सल्लाह गरौंला’, सभाध्यक्ष नेम्बाङले सहमतिमा आउन आग्रह गरेपछि पोखरेलले जबाफ दिएका थिए। त्यस क्रममा नेम्बाङले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाएर दलहरूबीच सहमतिका लागि प्रयत्न गर्न पोखरेलसँग आग्रह गरेका थिए।
‘दलहरूबीच बिग्रेको सम्बन्ध सुधार गर्ने र राजनीतिक वातावरण बनाउने काम उच्चस्तरीय समितिको हो। त्यसको बैठक बोलाएर अघि बढ्न सकिन्छ’, नेम्बाङलाई उद्धृत गर्दै स्रोतले भन्यो। तर पोखरेलले उक्त समितिको बैठक बस्ने सम्भावना नरहेको जबाफ नेम्बाङलाई दिएका थिए।
‘प्रधानमन्त्री देखाउनका लागि वार्ताको कुरा गर्ने, एमाले अध्यक्ष भाँड्ने अभिव्यक्ति दिने, सभाध्यक्ष आफ्नो निर्णय नसच्याउने हो भने राजनीतिक समितिको बैठक कसरी बस्न सक्छ?’ पोखरेलले अन्नपूर्णसँग भने, ‘प्रस्ताव निर्माण समितिको निर्णय सच्चिएमात्र सहमतिका लागि ढोका खुल्छ।’
विपक्षी गठबन्धन संविधानसभामा नजाने
एमाओवादी नेतृत्वको गठबन्धनले संविधानसभाको बिहीबारको बैठकमा भाग नलिने समझदारी गरेको छ। विपक्षी गठबन्धनका प्रमुख सचेतकहरूको मंगलबार बसेको बैठकले बिहीबारको बैठकमा भाग नलिने समझदारी गरेको र त्यस सम्बन्धी औपचारिक निर्णय लिन बुधबार शीर्ष नेतृत्वको बैठक बोलाइएको छ।
‘बहुमतीय प्रक्रिया नसच्चिएसम्म संविधानसभा बैठकमा नजाने समझदारी भएको छ’, एमाओवादी प्रमुख सचेतक पोखरेलले भने। प्रस्ताव समितिको म्याद थप्ने विषयमा निर्णय गर्न सभाध्यक्ष नेम्बाङले बिहीबार संविधानसभा बैठक बोलाएका हुन्।
‘सभाध्यक्षको हैसियतमा बोलाइने बैठक र छलफलमा हामी भाग लिन्नौं’, फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले भने, ‘सभामुखको हैसियतमा बोलाएका छलफल र बैठकमा मात्र हाम्रो पार्टी भाग लिन्छ।’
समाजवादी जनता पार्टीका सभासद् प्रेमबहादुर सिंहले सभाध्यक्षले प्रश्नावली बनाउने निर्णय नसच्याएसम्म विपक्षी दलले संविधानसभा र त्यसअन्तर्गतका समितिमा भाग लिने निर्णय यथावत् रहेको बताए। अन्न्पूर्णपोष्टबाट