काठमाडौं २२ असार (ओएनएस) : पार्टीको भावी कार्यदिशा र पार्टी एकताका विषयमा नेकपा-माओवादीभित्र नेताहरु दुई भागमा बाँडिएका छन् । जनविद्रोहको जगमा जनयुद्ध वा नयाँ प्रकारको जनयुद्ध भन्नेमा नेताहरु दुईभागमा बाँडिएका छन् । चारदिनदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेद्र विक्रम चन्दको दुईवटा प्रस्तावमा छलफल लिरहेको छ । माओवादी सचिव देवप्रसाद गुरुङले भने विवाद नभएको तर भनाईहरु भिन्न कोणबाट आइरहेको बताए ।
आगामी राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरी जारी बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक दस्तावेजमा बहस केन्द्रीत गरेको उनले बताए । ‘पार्टीलाई जनता समक्ष कसरी पुरयाउने भन्नेमा भनाईहरु फरक फरक आउन सक्छन् त्यसलाई विवाद भन्न मिलदैन’ गुरुङले ओएनएस न्यूजसँग भने, ‘आगामि राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँ दिशा तय गर्नेछ ।’ पार्टी एकताको विषय पनि नीतिसँगै जोडिएकाले कुराहरु फरक आउन स्वभाविक भएको उनले बताए ।
बैठकमा अध्यक्ष मोहन वैद्यले पेस गरेको दस्तावेजमा अहिलेकै ‘जनयुद्ध’को जगमा जनविद्रोहुको कार्यदिशालाई समृद्ध गर्नुपर्ने उल्लेख छ । त्यसमा फरक प्रस्ताव राख्दै सचिव नेत्रविक्रम चन्दले भने नयाँ ढंगको जनयुद्धको खाँचोसहितको दस्तावेज पेस गरेका छन् । बैठक आज पनि बस्दैछ ।