काठमाडौं, २५ वैशाख (ओएनएस) : एनेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले नयाँ विचारसहितको नयाँ पार्टी छिट्टै बन्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नयाँ पार्टी बनाउन सबै शक्तिसँग छलफलले गति लिइरहेको रायमाझीले बताए ।
नेताहरु पुराना रहेको, विचार संगठन, कार्यक्रम र योजना सबै पुरानो भएकाले नयाँ पार्टी निर्माणको अभियानमा डा.बाबुराम भट्टराईको नेतृत्वमा आफूहरु सक्रिय भएको उनको भनाई थियो ।
रायमाझीले देशलाई निकास दिने खाका वर्तमान नेतृत्वसँग नभएकाले नयाँ पार्टी अनिवार्य भएको तर्क गरे । ‘देशको आवश्यकता अनुसारको नयाँ पार्टी छिट्टै बन्छ’ रायमाझीले भने, ‘नयाँ पार्टी रुपान्तरणसहितको नयाँ सिद्धान्त, विचार, संगठन, अनुहार, कार्यक्रम र योजनासहितको हुनेछ ।’
परिवर्तनको आवश्यकता भइरहने भन्दै देशले चाहे अनुरुपको रुपान्तरण एनेकपा माओवादीको विराटनगर सम्मेलनले गर्न नसकेकाले आफूहरु विकल्पमा जान वाध्य भएको स्पष्ट पारे । नयाँ शक्ति निर्माणका लागि आफू स्वयं विभिन्न दलका नेता, समाजका बौद्धिक र नेतृत्वदायी क्षेत्रमा रहेकाहरुसँग छलफलमा सक्रिय रहेको खुलासा समेत गरे ।
एनेकपा माओवादीको संस्थापन पक्षप्रति कडा रुपमा प्रस्तुत भएका रायमाझीले विचार मिलेसम्म सँगै रहनसकिने र नमिलेपछि अलग हुने परिपाठी सामान्य र स्वाभाविक भएको बताउँदै नयाँ पार्टी गठनको अभियान चलिरहेको बताए ।