माओवादीमा ‘दुई लाइन’ संघर्ष चर्कियो

98
  •  
  •  
  •  

काठमाडौं २ असोज ।
संविधानसभा बाहिर रहेको प्रमुख शक्ति नेकपा-माओवादीको आन्तरिक विवाद चुलिदै गएको छ । दुई लाइन संघर्षको प्रभाव पार्टीको आन्तरिक संगठनमा मात्र नभई बाह्य राजनीतिमा समेत देखिएको छ ।

विवादकै कारण आफ्नै माग अनुसार प्रमुख दलहरुले तय गरेको राजनीतिक सम्मेलन बहिस्कार भएको दावी पार्टी नेताहरुले गरेका छन् । आन्तरिक विवादको परिणाम स्वरुप बुधवार पार्टी अध्यक्ष मोहन वैद्यले सम्बोधन गरेको एक कार्यक्रममा समेत नेताहरुको अर्को समूह सहभागी भएन ।

‘पार्टी पदाधिकारीबीच विवाद पहिले विचार समूहमा मात्र केन्द्रित थियो । अहिले चाहिं छर्लङ्गै देखिन थालेको छ’, राजनीतिक सम्मेलनमा समेत त्यसको प्रभाव देखिएको दावी गर्दै एक केन्द्रीय नेताले कान्तिपुरलाई बताए ।

पदाधिकारीबीच मूलतः महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दले दुई धारको नेतृत्व गरेका छन् । एक वर्षदेखि नै दुई समूहबीच विचारसमूहकै विवाद चलिरहेकोमा पछिल्लो समय चन्द पक्षीय एक केन्द्रीय सदस्यमाथि कारवाही भएपछि अर्को पक्ष रुष्ट बनेको हो ।

पार्टीको केन्द्रीय स्कुल विभागले कुपण्डोलमा आयोजना गरेको प्रशिक्षणमा अध्यक्ष वैद्य नै प्रमुख वक्ता थिए । नेवा र ताम्सालिङ्ग राज्यका नेता-कार्यकर्तालाई दिइएको उक्त प्रशिक्षणमा चन्द समूहका नेता सहभागी भएनन् । उनीहरुले चन्द पक्षीय केन्द्रीय सदस्य अनिल शर्मालाई महासचिव थापाले पूर्वाग्रही ढंगले निलम्बन गरेको भन्दै विरोधमा बहिस्कार गरेका थिए ।

‘अनिलजीमाथि पूर्वाग्रह राखि कारवाही भयो भन्ने हाम्राे निष्कर्ष हो । त्यसैले साथीहरु प्रशिक्षणमा सहभागी भएनन्’, चन्द पक्ष्ाकै पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्माले जानकारी दिए । पार्टीभित्र नेपाली क्रान्तिलाई हेर्ने सन्दर्भमा २ लाइन संघर्ष र बहस भइरहेको उल्लेख गर्दै त्यसैका आधारमा नेतृत्वले कसैलाई काखा कसैलाई पाखा गर्न नहुने उनको धारणा थियो ।

‘कारवाहीको विषय पार्टी पदाधिकारीले पुनरावलोन गर्नुपर्छ भनेर हामीले अध्यक्ष्ा ज्यूलाई पनि भनेका छौं’, नेता विश्वकर्माले भने-‘अरु पार्टीका नेतासँग मिलेर घर जग्गा बेच्न खोज्ने, त्यसलाई रोक्न खोज्दा उल्टै पार्टी सदस्यता खोसिदिने जस्ता अन्यायपूर्ण काम भएको छ ।’

केन्द्रीय सदस्य शर्माले चितवनको पार्टी कार्यलय र जग्गा एमाओवादीका स्थानीय नेतासँग मिलेर महासचिव थापासहितका नेताहरुले बेच्न खोजेको भन्दै लिखित रुपमै नेतृत्वको कडा आलोचना गरेका थिए । त्यसको जवाफ स्वरुप थापाले भदौ २२ गते अनुशासन उल्लंघन गरेको भन्दै उनलाई निलम्बन गरेका थिए ।

पार्टी प्रवक्ता पम्फा भुसालले भने पदाधिकारीको सहमतीमै कारवाहीको निर्णय भएकाले त्यसमा असहमती जनाउनुको तुक नहुने प्रतिक्रिया दिइन । ‘अध्यक्षसहितका पदाधिकारी बसेर छलफल भएरै कारवाहीको निर्णय भएको हो । अब त्यसमाथि केही गर्नुपरे पदाधिकारी फेरी बस्नुहोला’, भुसालले विवादबारे बताइन ।

वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को वर्तमान कार्यनीतिलाई परिमार्जनसहित कायमै राख्नुपर्ने भनी गत असारको केन्द्रीय समितिमा दस्तावेज राखेका थिए । त्यसमा चन्दले असहमती जनाउदै कार्यनीतिलाई सुधार गरी नयाँ ढंगको जनयुद्ध आवश्यक भएको भन्दै पुरक दस्तावेज पेस गरेका थिए । पार्टी लाइनमै विवाद भएपछि त्यतिबेला आयोजना गर्न लागिएको राष्ट्रिय सम्मेलन स्थगित भएको थियो ।

संविधान लेखन प्रक्रियामा सहभागी गराउन प्रमुख दलले गरेको प्रयासमा समेत सुरुमा अध्यक्ष वैद्यसहितका केही नेताहरु सकरात्मक देखिएका थिए । सरकारले आयोजना गर्ने सम्मेलनमा मूलत संविधानको अन्तर्वस्तुमा सहमती खोजिने र शान्ति प्रक्रियाका बाँकी विषयमा धारणा राख्न सकिने सहमती भएको थियो । शान्ति प्रक्रिया र समसामयिक अन्य विषय कार्यान्वयनका लागि सरकारलाई शीर्ष नेताहरुले दवाव दिने गरी छलफल भइरहदा पछिल्ला दिन वैद्य पक्षले पहिले नै सबै विषयमा लिखित सहमती हुनुपर्ने अडान राखेको थियो ।

सम्मेलन हुने भन्दा दुई दिन अघि चन्द पक्षधर नेताहरुले वैद्यलाई दवाव दिई पहिलेनै प्रमुख दलका नेताहरुबीच लिखित सहमती नभएसम्म सम्मेलनमा जान नहुने सुझाव दिएकाको पार्टी स्राेतले बतायो । त्यसमा अर्का सचिव देव गुरुङ्गको पनि समर्थन थियो ।

‘सम्मेलन रोकिनुको एउटा अर्थ प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने भन्ने कांग्रेस एमालेको तयारीको विरोध पनि हो’, अर्का एक नेताले नाम नबताउने सर्तमा भने-‘त्यसमा हाम्रो पार्टी मात्र नभएर एमाओवादीको पनि साथ छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •