एकताका लागि दुई माओवादी थप नजिक हुँदै

55
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) : एकीकृत नेकपा माओवादी र नेकपा माओवादीले पार्टी एकताका लागि छलफललाई थप नजिक बनाउँदै लगेका छन् ।

पार्टी एकताका लागि दुई माओवादीबीच दोहोरो पत्र आदान प्रदान भएलगत्तै नेकपा–माओवादीले ‘गम्भिर छलफल’ का लागि भन्दै एमाओवादीसँग वार्ता गर्न पदाधिकारीलाई जिम्मा दिएको छ । असोज ८ देखि ११ गतेसम्म काठमाण्डौंमा बसेको पोलिटब्यूरो बैठकले एमाओवादीसँग छलफल गर्ने जिम्मा पदाधिकारीलाई दिएको   हो ।

बैठकको निर्णयबारे महासचिव रामबहादुर थापा बादलले निकालेको  विज्ञप्तिमा भनिएको छ,‘ एनेकपा माओवादीद्वारा पार्टी एकताबारे हाम्रो प्रस्तावलाई सम्बोधन गरी वक्तव्यद्वारा सार्वजनिक गरिएकोमा त्यसलाई सकारात्मक रुपमा लिइयो र नयाँ जनवाद लगायतका विषयमा गम्भीरतापूर्वक बहस तथा संवाद गर्नका लागि केन्द्रीय पदाधिकारी कमरेडहरुलाई दिइएको पहिलेकै जिम्मेवारी कायम राखियो ।’

नेकपा–माओवादीले पार्टी एकताका लागि गत बैशाखमा अगाडि सारेको ६ बुँदे सर्त यस्तो थियो-
१. माक्र्सवाद–लेनिवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्नुपर्ने ।
२. नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्नुपर्ने ।
३. संसदवादलाई अस्वीकार गर्नुपर्ने ।
४. सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्नुपर्ने ।
५. पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी कमजोरीलाई सच्याउन तयार रहनुपर्ने ।
६ जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरूप संगठन सञ्चालन गर्न राजी हुनुपर्ने ।

यो प्रस्ताव पाएको झण्डै छ महिनापछि केही दिन अघि मात्रै एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि गम्भिर रहेको भन्दै छ बुँदे जवाफ पठाएका थिए ।   यो सर्त पाईसकेपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा–माओवादीलाई पठाएको जवाफ यस्तो थियो-
प्रिय कमरेड,
मिति २०७१।०१।२३ मा ने.क.पा.–माओवादी, पोलिट्व्यूरोको ‘पार्टी एकता सम्बन्धी प्रस्ताव’लाई हाम्रो पार्टीले एक गम्भीर र सकारात्मक पहलका रुपमा लिएको छ । स्मरणरहोस् झण्डै सोही अवसरमा सम्पन्न हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को विराटनगर राष्ट्रिय सम्मेलनले पनि माओवादी कम्युनिष्ट क्रान्तिकारीहरुको एकताको ऐतिहासिक आवश्यकता बोध गरी एक प्रस्ताव पारित गरेको छ । यसबाट विगतका अनुभवहरुको गम्भीर आत्मसमीक्षा सहित सिद्धान्तनिष्ठ एकताका लागि पहल गर्ने हामी दुवै पार्टीको समान सोच र आकांक्षालाई प्रतिविम्बित गर्दछ ।
यस सन्दर्भमा हामी स्पष्ट गर्न चाहन्छौं कि पार्टी एकताकालागि तपाईहरुले प्रस्तुत गरेका सैद्धान्तिक, राजनैतिक तथा साँगठनिक ६ बुँदे आधारहरु मध्ये १, ३, ४, ५ र ६ नं. बुँदामा अभिव्यक्त विचार र स्पीरिटमा हाम्रो पार्टी सैद्धान्तिक रुपले सहमत रहेको छ । २ नं. बुँदाको हकमा हामीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने निर्णय गरेको तथ्य स्पष्ट छ । तर, हाम्रो पार्टी, नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकता प्रति गम्भीर रहँदै यस विषयमा समेत तपाईहरुसँग खुल्ला र स्पष्ट छलफल गरी साझा निष्कर्षमा पुग्न प्रयत्नशील रहेको तथा रहने तथ्य स्पष्ट गर्दै त्यस दिशामा ठोस पहलका लागि अनुरोध गर्दछ ।

यो जवाफलाई सकारात्मक मान्दै नेकपा–माओवादीले एमाओवादीसँग थप वार्ता गर्ने निर्णय गरेको छ ।

नेकपा–माओवादी पोलिटब्यूरो बैठकले सर्वपक्षीय राजनीतिक संमेलनमा एजेण्डाबारे लिखित सहमति नगरी मिति सार्वजनिक गरेकोमा आफ्नो तर्फबाट कमजोरी भएको निष्कर्ष समेत निकालेको छ ।

महासचिव रामबहादुर थापा बादलले निकालेको विज्ञप्तिमा राजनीतिक सम्मेलनका लागि वार्तालाई पनि निरन्तरता दिने भनिएको   छ ।

  ‘सर्वपक्षीय राजनीतिक सम्मेलन’ लाई फगत सुझाव सङ्कलन गर्ने एकदिने अन्तरक्रिया कार्यक्रमका रुपमा अघि बढाउने षड्यन्त्रपूर्ण क्रियाकलाप गरिएका कारण उक्त सम्मेलनको प्रथम बैठक सफल हुन नसकेको माओवादीको निष्कर्ष छ ।


  •  
  •  
  •