एमाओवादीभित्र ‘प्रचण्ड विचारधारा’को बहस

133
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) : एकीकृत नेकपा माओवादी भित्र प्रचण्डपथ र प्रचण्ड विचारधाराको बहस फेरी सुरु भएको छ ।

एकीकृत माओवादीका ३५ वटा जातीय–क्षेत्रीय संगठनले नयाँ राष्ट्रिय एकीकरणको वहसका लागि भन्दै त्रैमासिक पत्रिका प्रकाशित गरेर माओवादीले द्वन्द्वकालमा संश्लेषण गरेको ‘प्रचण्डपथ’ को फेरी वकालत गर्दै ‘प्रचण्ड विचारधारा’ समेत थपेर सार्वजनिक रुपमै वहस अगाडी सारेका हुन् । पत्रिकाको संरक्षक आफै अध्यक्ष प्रचण्ड छन् ।

एमाओवादी पार्टी कार्यालय कोटेश्वरमा ‘नयाँ राष्ट्रिय एकीकरण’ त्रैमासिक पत्रिकाको विमोचन कार्यक्रममा जातीय क्षेत्रीय मोर्चाका महासचिव तथा एमाओवादी स्थायी समिति सदस्य गोपाल किराँतीले भने,‘ प्रचण्डपथ रहँदासम्म क्रान्ति सफल थियो तर २०६५ सालमा यो हटाएपछि दुःख पाईएको छ अब यसरी हुँदैन, अब प्रचण्डपथ वा अझ त्यसमा प्रचण्ड विचारधारा चाहिन्छ,यसको वहसको प्रस्ताव हामीले गरेका छौं ।’

किराँतीले यो विषय पार्टीमा कुनै छलफल नभएको र आधिकारिक धारणा पनि नभएको भन्दै आफूले प्रस्ताव गरेको बताए । किराँतीले यो वहसको मात्रै सुरुवात भएको बताएका छन् ।

३५ वटा जातीय क्षेत्रीय मोर्चाको मुखपत्र ‘नयाँ राष्ट्रिय एकीकरण’को सम्पादकीयमा भनिएको छ,‘माओवादी पार्टीको तत्कालीन तेस्रो विस्तारित वैठक,दोस्रो राष्ट्रिय सम्मेलन, हेटौडा महाधिवेशन,२१ औं शताब्दीमा जनवादको विकासबारे अध्यक्ष प्रचण्डाद्वारा प्रस्तुत चार दस्तवेजहरु विद्यमान कम्युनिष्ट आन्दोलनमा सार्वभौम प्रवृतिका मौलिक वैचारिक योगदान हुन् । एकीकृत नेकपा माओवादीभित्र विचारको विकासको प्रश्न उपस्थित छ । अतः उल्लेखित चार दस्तावेजनका माध्यमले नयाँ विचार संश्लेषणमा पुग्नै पर्छ । त्यो संश्लेषण प्रचण्ड विचारधारा भनेर गर्न सकिन्छ…. ।’

यो संश्लेषणले वर्गीय,जातीय–क्षेत्रीय लैङ्गिक, भाषिक,साँस्कृतिक, उत्पीडनको अन्त्यका गर्दैै नयाँ राष्ट्रिय एकीकरणको कार्यभार पुरा गर्न सकिने किराँतीको दाबी छ ।

प्रचण्डले भने,‘ बहस त ठिकै छ तर यसमा मेरो असहमति छ ।’

प्रचण्डले भने प्रचण्डपथको पुनस्र्थापना वा प्रचण्ड विचारधारा संशलेषणमा आफ्नो असहमति रहेको बताए । उनले नेतृत्वलाई यसरी प्रस्तुत गर्ने विषय प्राविधिक हिसाबले र वैधानिक हिसाबले पार्टीभित्र कुनै छलफल नभएको बताए ।

उनले भने,‘जनयुद्वको समयमा सश्ंलेषण भएरको आएको हो यो(प्रचण्डपथ), यसको धेरै चर्चा परिचर्चा पनि भयो यो राष्ट्रिय सम्मेलनले पारित गरेर नेतृत्वसँग जोड्ने भन्यो, शान्ति प्रकृयामा आईसकेपछि मैले आफै प्रस्ताव गरेर स्थगित गरौँ भनेको हुँ ।’

प्रचण्डले अहिले नै नेतृत्वको नामसँग पथ वा विचारधारा जोड्दा एउटै कम्युनिष्ट केन्द्र बनाउन समस्या हुने बताए । उनले पहिले पनि व्यक्तिको नाममा विचार संश्लेषण गर्दा कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउन र एउटै कम्युनिष्ट केन्द्र बनाउन समस्या हुन देखेर आफूले प्रचण्डपथलाई थाति राख्न प्रस्ताव गरेको स्मरण गरे ।

उनले भने,‘ विश्वमा कुनै त्यस्तो नेता देखेको छैन जसले आफ्नो नाम जोडिएको विचारलाई स्थगित गरौं वा पुर्नविचार गरौं भनेर प्रस्ताव गरेको होस् तर मैले अहिलेको आन्दोलनलाई हित नहुने देखेर आफै प्रस्ताव गरेर केन्द्रीय समितिले निर्णय गरेको हो ।’ उनले प्रचण्डपथ वा प्रचण्ड विचारधारलाई अगाडी लिएर जाँदा फाईदा भन्दा घाटा हुने बताए ।

यसले समग्र आन्दोलनलाई अहित र असर गर्ने भन्दै यसमा आफ्नो असहमति रहेको उल्लेख गरे । प्रचण्डले प्रस्तावमा विधि नमिलेको बताए । उनले भने,‘गोपाल किराँती जीले अलि बढी ‘प्रोभोक’ गर्नुभयो की जस्तो लाग्यो, विधिको हिसाबले अलि मिलेन तर उहाँले वहस अगाडी सार्नुभएको छ ठिकै छ र वहस हुँदै जाला यो विषय ।’ प्रचण्डले प्रचण्डपथ ठिक थियो वा थिएन भन्ने विषय अध्ययन र अनुसन्धानको विषय भएको बताए ।
बाबुरामलाई काउन्टर ?

एमाओवादीभित्रै नयाँ शक्तिको बहस भईरहेको छ । यसको नेतृत्व वरिष्ठ नेता डा. बाबुराम भट्टराईले गरिरहेका छन् । यसकै सेरोफेरोमा प्रचण्डपथ पुनःस्थापित गर्ने वा प्रचण्ड विचारधारालाई स्थापित गर्ने भन्ने विषय प्रस्ताव आएको छ । यसलाई धेरैले भट्टराईलाई ‘काउन्टर’ दिन आएको प्रस्तावका रुपमा लिएका छन् ।

किराँतीले ओएनएस न्यूजसँग भने,‘ यसलाई काउन्टरको रुपमा नबुझौं, समेटेर लान खोजिएको मात्रै हो ।’ पार्टीमा प्रचण्डपथ वा विचारधारबारे छलफल नभएपनि स्थायी समिति सदस्यले नै सार्वजनिक कार्यक्रममा बोलेपछि पार्टीभित्र अब वहस हुने सुरु गर्ने एमाओवादी वृतमा चर्चा छ । किराँती प्रचण्ड निकट मानिन्छन् ।


  •  
  •  
  •  

Comments are closed.