शर्मालाई कारवाही गरेपछि नेकपा–माओवादीमा विवाद

109
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ (ओएनएस) : केन्द्रीय सदस्य अनिल शर्मा ‘विराही’ माथी कारवाही भएको विषयलाई लिएर नेकपा–माओवादभित्र विवाद सुरु भएको छ । हिजो महासचिव रामबहादुर थापा ‘बादल’ले नेतृत्व विरुद्ध अनर्गल प्रचार गरेको भन्दै शर्मालाई अनुशासनहीनताको आरोपसहित अनिश्चितकालका लागि जिम्मेवारीबाट हटाईएको विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।

लगत्तै सचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ले त्यसलाई अस्वीकार गरेका छन् । विप्लवले निकालेको विज्ञप्तिमा भनिएको छ,‘शर्मामाथि अनुशासनहिनको आरोप लगाउँदै महासचिव बादलले कारवाहीको नाममा निकालेको वत्तव्य कुनै कमिटिको निर्णय नभएको साथी पार्टी पद्धति विपरित भएकाले उक्त निर्णयप्रति असहमति रहेको जानकारी गराउदछुँ ।’

एमाओवादी र नेकपा–माओवादीबीच स्वामित्व विवाद रहेको चितवन पार्टी कार्यालय बेच्ने तयारी भएको भन्दै त्यसको विरोधमा एमाओवादी नेता डा. बाबुराम भट्टराई पक्षीय जिल्ला समिति संयोजक रमेश रेग्मीसँग मिलेर हस्ताक्षर गरेको आरोपमा शर्मा कारवाहीमा परेका थिए । शर्मा पार्टीभित्र विप्लव पक्षीय नेताका रुपमा चिनिन्छन् । विप्लप पक्षले कारवाही फिर्ता नभए राम्रो नहुने चेतावनी दिएको स्रोतको भनाई छ ।


  •  
  •  
  •