काठमाडौं, २३ भदौ (ओएनएस) : तत्कालीन नेकपा (माओवादी) को कार्यालय रहेको घरको विषयलाई लिएर दुबै माओवादीले आफ्ना नेतामाथि कारवाही गर्ने शिलिशिला चलाएका छन् । यसअघि एकीकृत माओवादीले चितवनका आफ्ना दुईजना जिल्ला नेतामाथि कारवाही गरिसकेको छ भने नेकपा–माओवादीले आफ्नो केन्द्रीय सदस्य अनिश शर्मा ‘विरही’ माथि कारवाही गरेको छ ।
के हो काण्ड ?
पार्टी नफुट्दै कार्यालय रहेको घर १० कट्टा १० धुर मा बनेको छ । अहिलेको बजार मुल्य अनुसार विक्रि गर्दा पनि ७ देखि ८ करोड रुपैयाँ पर्ने अनुमान छ । दुईवटा पार्टी फुटेर अलग भइसकेपछि एकीकृत माओवादी र नेकपा–माओवादीबीच स्वामित्व विवाद भयो । यसै विषयलाई लिएर २०६९ साल असार १६ गते दुई माओवादीबीच झडप हुँदा गोली हानाहान समेत भएको थियो । स्वामित्वको विवाद नसल्टिएपछि विवादित घरमा प्रहरी बस्दै आएको छ ।
स्वामित्व नसल्टिएपछि एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीले केन्द्रबाटै विक्रि गर्ने तयारी गरेको भन्दै चितवनका दुबै माओवादीका नेताहरु त्यसको विरुद्धमा उत्रिएर संयुक्त हस्ताक्षर गरेर भदौं १९ गतेसम्म विज्ञप्ति निकाले । नेकपा–माओवादीसँग मिलेर हस्ताक्षर गरेपछि एमाओवादीले भदौं १९ गते आफ्ना जिल्ला नेता रमेश रेग्मी र विष्णुहरि तमिल्सेनालाई निलम्बन गरिसकेको छ । रेग्मी एमाओवादीको समानान्तर समितिका संयोजक समेत हुन् ।
एमाओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष र नेकपा–माओवादी भित्र तामसालिङ ईन्चार्ज सूर्य सुवेदी ‘पथिक’ चितवनको भरतपुर–७ कृष्णपुरमा रहेको कार्यालय बेच्ने पक्षमा लागेको विरोधमा लागेको आरोप लागेको छ । कार्यालय बेच्न नहुने भन्दै भट्टराई पक्षसँग संयुक्त हस्ताक्षर गरेपछि नेकपा–माओवादीले नेतृत्व विरुद्ध अनर्गल प्रचार गरेको आरोपमा केन्द्रीय सदस्य अनिल शर्मालाई कारवाही गरेको छ । शर्मा पार्टी नफुट्दै जिल्ला ईन्चार्ज थिए भने एमाओवादीले कारवाही गरेका रेग्मी सेक्रेटरी थिए ।
शर्मालाई कारवाही गरिएकोबारे नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले आज निकालेको विज्ञिप्तिमा भनिएको छ,‘ एकीकृत माओवादीका एक सदस्यसहित संयुक्त विज्ञप्ति प्रकाशित गरि नेतृत्वका विरुद्ध अनर्गल आक्षेप लगाईएको छ । यस प्रकारको मर्यादाविपरीत तथा अनुशासनहीन काम गरेकोमा तत्काल उहाँलाई अनिश्चिकालका लागि सम्बन्धित कामको जिम्मेवारीबाट निलम्बन गरिएको कुरा सार्वजनिक गरिन्छ ।’ शर्माले आफूले पनि जानकारी पाएको भन्दै थप अध्ययन गरेर मात्रै बोल्ने बताए ।
शर्मालाई कारवाही खुवाउने विज्ञाप्ती