माओवादी राजनीति छोडेर व्यावसायतिर

235
  •  
  •  
  •  

काठमाडौं १३ साउन (ओएनएस) :
कपा-माओवादीका केन्द्रीय सदस्य एवं पूर्वसभासद् इन्द्रजित थारूले भर्खरै दाङ देउखुरी बेकरी आइसक्रिम एन्ड कफीहाउस खोले। माओवादीको दाङ इन्चार्जसमेत रहेका थारूले करिब सात लाखको लागतमा बेकरी खोलेका हुन्। केन्द्रीय सदस्य थारू यतिबेला पार्टी कामका अतिरिक्त आफ्नो व्यवसायमा उत्तिकै खटिरहेका छन्।

‘पार्टी काम मात्रै गरेर के खाने?’, थारू भन्छन्, ‘जीवनयापनका लागि पनि केही न केही त गर्नैपर्ने भयो।’ विगत सम्झँदै थारू भन्छन्, ‘युद्धकालमा पूर्णकालीन कार्यकर्तालाई न्यूनतम बाँच्ने खर्च पार्टीले पनि दिन्थ्यो। अबको खुला परिवेशमा आर्थिक रूपमा पनि उत्तिकै सक्षम नबनेसम्म कामै छैन।’ उनी आफ्ना कार्यकर्तालाई पनि आयआर्जनको विकल्प पहिल्याएर श्रमसँग जोड्दै राजनीतिमा लाग्नुपर्नेमा जोड दिन्छन्।

रु कुमको चौरजहारी घर भएका महेश मल्लले घोराही नगरपालिका ११ बैंकरोडमा आकर्षण फेन्सी स्टोर सञ्चालन गरिरहेका छन्। जनमुक्ति सेनाका बटालियन कमान्डर तथा एमाओवादीका पूर्वराज्य समिति सदस्य मल्लले करिब १५ लाखको लागतमा पसल सुरु गरेका हुन्। २०५४ सालमा भूमिगत भएका मल्लले स्वेच्छिक अवकाशमा निस्किएपछि पसल खोलेका हुन्। त्यस्तै जनमुक्ति सेनाका ब्रिगेड सहकमान्डर शिला पुन यतिबेला एमाओवादी दाङको जिल्ला समिति सदस्य छिन्। उनी पनि फेन्सी स्टोरमा सक्रिय छिन्।

रु कुम पूर्तिमकाँडाकी पुन मल्लसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्। २०५६ सालदेखि भूमिगत भएर सेना समायोजन प्रक्रियापछि स्वेच्छिक अवकाशको बाटो रोजेकी पुनको दिनचर्या पार्टी काम र आयआर्जनको काममा बित्ने गरेको छ। ‘केही न केही गर्नैपर्ने भयो। पार्टीको काममा मात्रै हिँडेर भएन। त्यही भएर स्वेच्छिक अवकाशमा आउँदा पाएको रकम र अरू केही थपथाप पारेर फेन्सी स्टोर सुरु गरेका हौं’, मल्लले भने। आफ्ना धेरै साथी विदेशतिर गएको र यहाँ बस्नेले आयआर्जनको विकल्प नखोज्दा दु:ख पाएको अनुभव उनले सुनाए।

सदरमुकामस्थित ग्रिन एग्रोभेटका सञ्चालक हुन् नेकपा-माओवादीका केन्द्रीय सदस्य एवं थारु वान राज्यसमितिका सेक्रेटरी हेमराज शर्मा। उनी आफू पार्टी काममा बढी सक्रिय रहे पनि श्रीमतीले उक्त एग्रोभेट सञ्चालन गरिरहेकी छन्। ‘यसले जीवनयापन र राजनीतिक काम गर्न केही सहज भएको छ’, शर्माले भने। ‘आयस्रोत नपहिल्याउने हो भने अब राजनीति गर्न पनि सम्भव छैन’, शर्माको अनुभव छ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रहेका एमाओवादी नेता कृष्णबहादुर महराका जेठा छोरा निर्मल महरा पनि उत्पादनसँग जोडिएका छन्। उनले दाङकै घोराही नगरपालिका २ गैरागाउँमा सिर्जनशील कृषि व्यवसाय तथा पशुपालन फर्म सञ्चालन गरिरहेका छन्। ‘फर्ममा हाल बंगुरपालन र माछापालन गरेको छु’, महराले भने, ‘यो तालले त डुबिने देखियो। छोराछोरी पढाउन पनि नसकिने स्थिति आउन थाल्यो। त्यही भएर काठमाडौंको गोंगबुमा चारपाँचजना साथी मिलेर निर्मलबाटिका एकेडेमिक स्कुल पनि खोलेका छौं’, महराले भने। आत्मनिर्भर बन्दै आफ्नै खुट्टामा उभिएर राजनीति पनि सँगसँगै लैजानुपर्ने देखियो’, उनले थपे।

उनीहरूमात्र होइन, एमाओवादी दाङका उपाध्यक्ष निर्मल आचार्य पनि आयआर्जनको वैकल्पिक बाटो खोज्ने तरखरमा छन्। अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष बालकुमार श्रेष्ठ व्यावसायिक कुखुरापालनमा व्यस्त छन् भने स्वेच्छिक अवकाशमा निस्केका पूर्णप्रकाश घर्ती दाङकै घोराही नगरपालिकाको सर्रामा व्यावसायिक बंगुरपालन गरिरहेका छन्। यतिबेला माओवादी वा एमाओवादी नेता र कार्यकर्ता आफ्नो हैसियतले भ्याएसम्म आयस्रोतको वैकल्पिक बाटो पहिल्याइरहेका छन्। Annapurnapost


  •  
  •  
  •