सातै प्रदेशका नेतालाई समेटेर एमालेले मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दैछन् मन्त्री ?

259
  •  
  •  
  •  

काठमाडाैँ, १ चैत (ओएनएस) : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरी रहेका छन्। संघीय समाजवादी फोरम नेपालले सरकारमा आउने निर्णय गरेसँगै ओलीले मन्त्रिपरिषद विस्तारको तयारी थालेका हुन्।

एमाले अध्यक्ष प्रधानमन्त्री ओलीले सातै प्रदेश समेट्ने गरी एक÷एकजनालाई एमालेबाट मन्त्री बनाउनको लागि पार्टी भित्र गहनरुपमा छलफल भइरहेको छ। ओली निकट एक नेताले प्रम ओली सकेसम्म विवादस्पद व्यक्तिलाई मन्त्री बनाउने पक्षमा नरहेको बताएका छन्।

स्रोतका अनुसार अब तेश्रो चरणमा हुने मन्त्रिपरिषद् विस्तारको क्रममा एमालेबाट विवादित नभएका र आर्थिक प्रलोभनमा पर्न नसक्ने नेताहरुलाई अवसर दिइनेछ।

हाल सात सदस्यीय रहेको मन्त्रिपरिषद्लाई विस्तार गरेर सरकारको कामलाई पूर्ण क्षमतामा अघि बढाउने उद्देश्य साथ ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेसँगै एमालेमा मन्त्रीका आकांक्षी पनि बढ्न थालेका छन्।

प्रधानमन्त्री ओलीले सुरुमा मन्त्रिमण्डल बनाउँदा ‘सरप्राइज’ दिँदै लालबाबु पण्डित र थममाया थापालाई रोजेका थिए। त्यसपछि दोस्रो चरणमा डा. युवराज खतिवडा र ईश्वर पोख्रेल मन्त्री बने। उनीहरुसँगै माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादवले मन्त्री बन्ने अवसर पाएका हुन्

को को बन्दैछन् मन्त्री

प्रदेश १ बाट

प्रदेश १ बाट मन्त्रीमा एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराई, पाँचथरका सांसद वसन्त नेम्बाङ र त्यसैगरी मोरङ ३ का सांसद तथा पार्टी पोलिटब्युरो सदस्य भानुभक्त ढकालको नाम चर्चामा छ।
यी तीनै नेता मन्त्री बन्नको लागि आ आफ्ना कुटमा तिब्र रुपमा लबिङ्ग गरिरहेका छन्।

प्रदेश २ बाट

प्रदेश २ बाट एमाले उपाध्यक्ष वामदेव गौतमका प्रियमध्ये एक रघुवीर महासेठ मन्त्री बन्ने सम्भावना छ। वामदेवले रघुवीरलाई मन्त्री बनाउनुपर्ने लबिङ गरिरहेका छन्।

प्रदेश ३ बाट

प्रदेश ३ बाट मन्त्री बन्नेहरुको सूचि लामै थियो। तर पछिल्लो चरणमा सूचि घटेर दुईजनामा सीमित भइसकेको छ। ओली मन्त्रिपरिषद्‍मा पर्नका लागि अहिले काठमाडौँका कृष्णगोपाल श्रेष्ठ र काभ्रेका गोकुल बास्कोटाले चर्को लबिङ गरिरहेका छन्।

प्रदेश ४ बाट

यो प्रदेशबाट यसअघि संविधानसभाबाट रुपान्तरित संसदमा विकास समितिका सभापति भइसकेका कास्कीका रवीन्द्र अधिकारी ओली मन्त्रिमण्डलमा पर्ने सम्भावना बलियो छ। उनलाई र प्रदेश २ का रघुवीरलाई मन्त्री बनाउन एमाले उपाध्यक्ष गौतमले नै लबिङ गरिरहेका छन्।

प्रदेश ५ बाट

प्रदेश नम्बर ५ मा पनि मन्त्रीको चर्चामा तीन नेताको नाम छ। तर यो पटक गुल्मीका गोकर्ण विष्टको मन्त्री बन्ने सम्भावना कम छ। यस्तो अवस्थामा यो प्रदेशबाट गुल्मीकै प्रदीप ज्ञवाली र रुपन्देहीका छबिलाल विश्वकर्मा मन्त्रीको दौडमा अग्रपंक्तिमा छन्।

कर्णाली प्रदेशबाट

कर्णाली प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि कुनै नेताको ठूलो चर्चा छैन। यहाँबाट विजयी एकजनालाई राज्यमन्त्रीसम्मको जिम्मेवारी दिने चर्चा छ। यो प्रदेशमा दैलेख १ र २ बाट एमालेका रवीन्द्रराज शर्मा र राजबहादुर बुढाक्षेत्री विजयी भएका थिए। त्यसैगरी डोल्पबाट धनबहादुर बुढा र मुगुबाट गोपालबहादुर बम प्रतिनिधि सभामा विजयी भएका थिए ।

प्रदेश ७ बाट

यो प्रदेशबाट तीन नेतको नाम चर्चामा छ। डोटीका प्रेम आले, कैलालीका नारदमुनि राना र अछामका भीम रावलको नाम चर्चामा छ। तर, यो पटक भीम रावल मन्त्री बन्ने सम्भावना कम छ।


  •  
  •  
  •