काठमाडौं, २१ असाेज (ओएनएस) : सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारकाे पक्षमा सञ्चारमाध्यम र पत्रकारहरूले कहिल्यै पनि सकात्मक समाचार नलेखेको आरोप लगाएका छन् । उनले अहिले सम्मकै बढी बहुमत प्राप्त दुई तिहाई सरकारको सञ्चारमाध्यम र पत्रकारहरूद्धारा स्वार्थअनुसारको विरोध भएको बताए ।
नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै मन्त्री बास्कोटाले नयाँ सरकार अाएदेखि धेरै राम्रा काम भएपनि सकारात्मक कुराकाे कहिल्यै पनि समाचार नबनेको बताए ।
‘सरकारले गरेका राम्रा र सकारात्मक समाचार लेख्नु पर्दैन ?’, प्रश्न गर्दै उनले भने, ‘जहिले पनि नकारात्मक समाचार लेख्ने । के सरकारले नराम्रा मात्रै काम गरेको छ र ?’ मन्त्री बास्कोटाले सरकारको पक्षमा समाचार लेख्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघले कुरै नबुझेर आफ्नो विरोध गरेको भन्दै मन्त्री बास्कोटाले भने, ‘पत्रकार महासंघ कस्को संस्था हो? कसका लागि काम गरेको छ रु म पनि पत्रकारिताबाट आएको हुँ । मले पनि अलिअलि बुझेको छु ।’