२७ महिना सेनाकाे हिरासतमा रहेकी नवनियुक्त खानेपानी मन्त्री बिना मगर काे हुन्?

384
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : नेपाल सरकार, खानेपानी मन्त्रालयमा नवनियुक्त मन्त्री बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा भएकाे हाे। उनकाे बुबाकाे नाम चन्द्रबहादुर मगर र आमाकाे सावित्रीमाया मगर हाे।

नवनियुक्त मन्त्री बिना पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गरेकी हुन्।पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट उनी माध्यमिक तहको शिक्षा पूरा गरिन्।

नवनियुक्त मन्त्री बिनाले स्नातक तहसम्म शिक्षा आर्जन गरेकी छिन्।

बाल्यकालदेखि नै समाजमा विद्यमान गरीबी, असमानता र विभेद देखेर उनीमा विद्रोही स्वभाव विकास भयो । र, २०५१ सालमा ११ वर्षको उमेरमै उनी जनबालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गरिन् ।

गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता न्यूनतम सुविधा समेत नपाएका कञ्चनपुरको दक्षिणी क्षेत्रका वस्तीहरूमा जनताका आवाज उठाउँदै हुर्केकी उनी माध्यमिक तहमा अध्ययनरत छँदा माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भइसकेकी थिइन्।

विद्यार्थी राजनीति गर्दा अखिल (क्रान्तिकारी) को जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालमा उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)कञ्चनपुरको जिल्ला अध्यक्ष भइन्। त्यसपछि राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना काठमाडौं आइन्।

काठमाडौंमा उनी तत्कालीन अखिल (क्रान्तिकारी)मा आवद्ध भएर भित्रिरूपमा नेकपा माओवादीको पूर्णकालीन सदस्यको रूपमा काम गरिन्।काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा अत्यधिक मतले जितेकी बिना मगर २०६० सालमाअखिल (क्रान्तिकारी) काठमाडौंको जिल्ला अध्यक्ष भइन्। राजधानी काठमाडौंमा माओवादी आन्दोलनमा

सक्रिय रहेकै बेला २०६० सालमा उहाँलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेकाे थियाे।वेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २७ महिनासम्म उनीले चरम यातना सहिन् ।

धेरै सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि उहाँ संयोगवश ब्यारेकमै छुटेर बाँच्न सफल  भएकी थिइन्। शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा नै कार्यक्षेत्र रहेर उनी फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बनिन्। २०६४ सालको स्ववियू निर्वाचनमा उहाँ सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा लोकप्रिय मतका साथ विजयी भइन । योसँगै उनी पार्टीको केन्द्रीय सदस्य समेत बनिन्।

हाल उनी पार्टीको पोलिटब्यूरो सदस्य छिन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले पराजित भएपनि जनतासँग निरन्तर जाेडिएर बसिन्। विकास निर्माणदेखि जनताका हरेक समस्यामा उनकाे सक्रियता कायमै रह्यो । यही सक्रियता र जनताप्रतिको समपर्णकै कारण उनी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोही क्षेत्रबाट दुईतिहाई मत ल्याएर विजयी भइन्। मतका आधार बिना  ७ नम्बर प्रदेशका वाम उम्मेदवार र देशैभरिबाट माओवादीका महिला उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले जित्ने महिला समेत बन्न सफल भइन्।

नेपाली समाजको रुपान्तरणमा उनको योगदान, जनताले दिएको मत र उनले खेलेको संघर्षपूर्ण भूमिकाको कदर गर्दै नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ बाट  उनको नाम मन्त्री पदका लागि सिफारिस भएपछि पार्टीले उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको  थियाे। पारिवारिकरुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र दिवंगत प्रकाश दाहालसँग उनको विवाह भएको थियो । निर्वाचनमा खटिएको बेला उनका श्रीमान प्रकाश दाहालको हृदयघातबाट मृत्यु भएको थियो । शोकको घडीमा समेत जनताबीच दृढ अठोटका साथ उनी खटिएकी थिइन । उनकाे १ जना छोरा रहेकाे छ

 


  •  
  •  
  •