भारतीय सेनाका प्रमुख नरावणे आज नेपाल आउँदै

73
  •  
  •  
  •  

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे आज नेपाल आउँदैछन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउने भएका हुन्। बिहान ११ बजे विशेष विमान मार्फत उनीहरु काठमाडौं आउनेछन् ।

उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ। नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।

भ्रमणअघि नरावणेले दुई देशका सेनाबिचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्। नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका उनी शनिबार स्वदेश फर्किने छन्।

नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ। नरावणे सोही उपाधि ग्रहण गर्न नेपाल आउन लागेका हुन्।

यसैबीच नेपालस्थित भारतीय दूतावासले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणले दुई देशका सेनाबीच परम्परागत मित्रता गाढा हुने दावी गरेको छ। दूतावासका प्रवक्ता नवीन कुमारले भारतका सेनाध्यक्ष नरवाणेको भ्रमणबारे मिडियामा धेरै प्रश्न उब्जेको भन्दै भ्रमणले दुई सेनाबीच लामो समयदेखि रहेको परम्परागत मित्रतालाई गाढा पार्ने जनाएका हुन्।

भारतीय दूतावासले ट्वीटरमा भनेका छन्, ‘नरवाणेको भ्रमणले दुबै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने र आपसी फाइदाका लागि यसलाई अझ मजबुत बनाउनका लागि अवसरहरू खोजी गर्ने अवसर प्रदान गर्नेछ ।’


  •  
  •  
  •