मृत्युको अर्थबोधमा मनमोहन अधिकारी

216
  •  
  •  
  •  

राममणि पोखरेल
स्वाभाविक रूपमा प्रत्येक मानिस जन्मेर उमेरको एकहद पुगेपछि, मृत्युवरण गर्छ । यो प्रकृतिले दिएको शाश्वत नियम नै हो । कतिपय मृत्यु यस्ता हुन्छन्, जसले आफ्नो परिवारलाई शोकाकुल पार्छ । तर, केही मानिसका मृत्युले सिंगो राष्ट्रलाई नै शोकाकुल पार्छ र त्यो दिनलाई मानिसले सम्झिरहन्छन् । एक कर्मशील, संघर्षमय जीवन बिताउने, देश र जनताको मुक्तिका लागि बलिदानीपूर्ण र आदर्शले ओतप्रोत जीवन बिताउने थोरै व्यक्ति मात्र भेटिन्छन्, ती थोरैमध्ये एक थिए, स्व. मनमोहन अधिकारी । प्रत्येक साल वैशाख १३ गते आमनेपालीलाई स्व. अधिकारीको सम्झना गराएर बिदा हुन्छ ।
नेपाली कम्युनिस्ट आन्दोलनका एक शिखर पुरुष, परिपक्व र संघर्षशील व्यक्तिलाई हामीबाट फुत्काएर लाने यही वैशाख १३ गतेको बिहान थियो । उहाँको राजनीतिक व्यक्तित्वले शिखर चुमेका कारण उहाँको मृत्युले नेपाली समाज र राष्ट्र स्वाभाविक शोकाकुल बन्न पुग्यो । नेपालका दूरदराजका गाउँबस्तीमा बस्ने बूढाबूढी, हिजो, आज र कालान्तरमा पनि, वृद्धभत्ता दिएर हामीलाई सम्मान गर्ने, ती आदर्श पुरुषको नाम नेपालका राजनेताहरूमा स्वर्णाक्षरले लेखियोस् भन्ने चाहन्छन् ।
मानिसले चाहेर मात्र ऊ प्रतिष्ठित व्यक्ति हुन सक्दैन । मानिस जन्मेदेखि मृत्युका दिनसम्म उसको जीवनमा जुन डोरो तानिएको हुन्छ त्यही डोरो तान्ने क्रममा एउटा निश्चित मार्गदर्शनको धरातलमा उभिएर समाजको द्वन्द्व, राष्ट्रिय पहिचान, समाज रूपान्तरणका चुनौतीको सामना गर्दै न्यायपूर्ण र विभेदरहित समाज निर्माणका लागि जीवन अर्पण गर्न तयार हुन्छ । त्यही व्यक्तिलाई राष्ट्र र समाजले सम्मानित गर्छ र जनताको आँखाबाट ओझेल हुन दिँदैन । अध्ययनको सिलसिलामा वनारस पुगेका अधिकारी भारतीय जनताले सञ्चालन गरेको स्वाधीनताको आन्दोलनमा होमिए । त्यही आन्दोलनबाट प्रेरित भई उनी भारतीय कम्युनिस्ट पार्टीका सदस्य बन्न पुगे ।
ब्रिटिसबिरुद्धको ‘भारत छोड’को राष्ट्रव्यापी आन्दोलनमा सहभागी हुने क्रममा उनी भारतीय जेलमा समेत पर्छन् । त्यही संघर्षबाट प्रेरित भएर उनी नेपालमा राणा शासनविरुद्धको संघर्षमा होमिन पुगे । २००४ सालको विराटनगर जुट मिल्समा कार्यरत मजदुरहरूलाई आन्दोलित गर्दै संघर्षमा होमिएका अधिकारीले जीवनको झन्डै ५२ वर्ष नेपालको कम्युनिस्ट आन्दोलनमा बिताए । पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको केही समयपछि अधिकारी केन्द्रीय सदस्य बने । यसैबेला पार्टी प्रतिबन्धित भयो ।
तर, पुष्पलाल, मनमोहन, तुलसीलाल जस्ता कर्मठ र संघर्षशील व्यक्तिहरू पार्टी प्रतिबन्धबाट विचलित भएनन्, आन्दोलनमा निरन्तर लागिरहे । प्रतिबन्धित कालमै सम्पन्न प्रथम महाधिवेशनमा सर्वसम्मत अधिकारी महासचिव छानिनुभयो । एक सय चार वर्षे निरंकुश राणा शासनबाट प्रताडित मुलुकका जनता, जो बाहिरी संसारबाट वञ्चित र मध्ययुगीन जीवन बिताउन विवस थिए । विकासका पूर्वाधार शिक्षा, यातायात, सञ्चार र सवास्थ्यको नाम मात्रको पनि विकास भएको थिएन । जमिन्दारी प्रथा विद्यमान थियो । जमिनको टाढा बसेर जमिन्दारहरू, किसानको शोषण गर्थे । त्यस्तो अँध्यारो स्थितिमा, कम्युनिस्ट पार्टीलाई खोपीमा राख्नु उचित नहुने ठानियो । कम्युनिस्ट पार्टीले तर्जुमा गरेका नीति, सिद्धान्त, दर्शन, कार्यक्रम जनताबीच पुर्‍याउन कठिन हुने भएकाले जनतालाई आन्दोलन र संघर्षमा उतार्न नसकिने सोच र व्यवहारिकतालाई ध्यानमा राखेर पार्टीलाई खुला राजनीतिमा ल्याउन क. अधिकारीको विशेष भूमिका रह्यो । फलस्वरूप पार्टी खुला भयो ।
संयोग भनाँै टंकप्रसाद आचार्यको सरकारको समयमा मन्त्रालयमा गएर पार्टी खुला गर्न हस्ताक्षर गर्ने अधिकारी नै ३९ वर्षपछि नेपालको इतिहासमा प्रत्यक्ष बालिग मतका आधारमा भएको निर्वाचनमा, प्रतिनिधि सभामा ठूलो पार्टी बनेको नेकपा (एमाले)को पार्टी प्रमुखको हैसियतले प्रथम प्रधानमन्त्री हुनुभयो ।
स्व. अधिकारीसँग जोडिएका जनकपुरका दुइटा घटना मेरो मानसपटलबाट हट्न सकेका छैनन् । एउटा घटना पार्टी प्रतिबन्धित हुँदा त अर्को घटना पार्टी खुला भएपछिका हुन् । लेखनाथ नेपाल र पाण्डवराज घिमिरे बितेर गए । उनीहरूकै मुखबाट यी घटना मैले सुनेको हुँ । ०११ सालमा गोपाल धर्मशालामा प्रशिक्षण कार्यक्रम थियो । कार्यक्रममा सहभागी हुन आएका कार्यकर्तालाई राति आएर पुष्पलाल र मनमोहनले प्रशिक्षण दिएर बिदा भए । उनीहरू बिदा हुने बित्तिकै सेनाले धर्मशाला घेरे । खानतलासी गर्दा ती दुवै व्यक्ति थिएनन् । कार्यकर्ता मात्र थिए । पार्टी खुला भएपछिको अर्को घटना, प्रचारप्रसारका सन्दर्भमा अधिकारी जनकपुर जानुभएको थियो ।
मान्छे भेला गर्न सकिँदैन र कार्यक्रम हुँदैन भनेर पाण्डवराज घिमिरेले निष्कृयता देखाएपछि अधिकारी आफैँ रिक्सामा चढी पर्दाले शरीर छोपेर, मुखमा माइक्रोफोन लगाएर बजार परिक्रमा गर्न थाले रे । सुन्नोस्, सुन्नोस्, आज रंगभूमि (बाह्रबिघे) मा नेपाल काम्युनिस्ट पार्टीका महासचिव मनमोहन अधिकारी आउँदै हुनुहुन्छ, भाषणस्थल नबिर्सनु होला भनेर नेपाली मैथिली, हिन्दी भाषामा पचार गर्दै हिँडेछन् । कस्तो रहेछ त्यो मनमोहन अधिकारी हेरौँ न त भनेर मानिस रंगभूमिमा भेला भएछन् । बजार घुमेर त्यहाँ पुग्दा रिक्साबाट झर्दै म हुँ मनमोहन अधिकारी भनेर सबैसँग हात जोड्दै नमस्कार गरेर एक घन्टा भाषण गरेका थिए रे । यो भनाइ पाण्डवराज घिमिरेको थियो ।
क. अधिकारीलाई कुष्टरोग लागेको थियो । चीनको कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ चीन जानुभयो । महाधिवेशनको समाप्तिपछि अरू नेताहरू मुलुक फर्किए ।
उहाँ उपचारार्थ उहीँ बस्नुभयो । उहाँको शरीरको सम्पूर्ण रगत फालियो र चिनियाँ रगत हालियो र उपचारपछि १६ सालको प्रारम्भमा देश फर्कनुभयो । नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भइसकेको थियो । त्यस्तै ०१५ सालको आम चुनाव सम्पन्न भई नेपाली कांग्रेसको सरकार बनेको थियो ।
०१५ सालको राजाको ‘कू’ पछि पुस २ गते उहाँ र पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला गिरफ्तार हुनुभयो । दुवैलाई राजधानी ल्याइयो । ४ महिनापछि चैत १२ गते (०१७) मा पूर्वप्रधानमन्त्री मातृकाले राजाको कदमलाई समर्थन गर्दै अमेरिकाको राजदूत भएर जानुभयो । क. अधिकारी भने लगातार ८ वर्ष जेल जीवन बिताएर ०२५ साल फागुन ९ गते रिहा हुनभयो । रिहा भएर पनि उहाँ आरामसाथ बस्नु भएन । पार्टी निर्माणमा लागिरहनुभयो । झापा विद्रोहको समयमा उहाँ एक महिना विराटनगर कारागारमा बस्नुभयो । ०३६ सालको जनमत संग्रहमा– राजासामु पाँच पूर्वसर्त राखेर उहाँले जनमत संग्रहमा भाग लिनुभयो । तिनै पाँच पूर्वसर्तपछि ०४६ सालको आन्दोलनमा आधार बने । ०४६ सालको आन्दोलनमा उहाँले अग्रणी भूमिका खेल्नुभयो ।
पूर्व माले र माक्र्सवादी एकीकरणपछि, उहाँको उचाइ अग्लियो । ०४८ सालको निर्वाचनपछि प्रमुख प्रतिपक्षी नेताको भूमिका निभाउनुभयो । ०५१ सालको निर्वाचनमा नेकपा (एमाले) प्रतिनिधिसभाको ठूलो दल बन्दै अल्पमतको सरकारको नेतृत्व क. अधिकारीले गर्नुभयो । उहाँकै नेतृत्वमा बनेको सरकारले देशका सम्पूर्ण वृद्धवृद्धा र विधवालाई सम्मानसाथ भत्ताको व्यवस्था गर्‍यो । त्यसमा क्रमिक बढौती हुँदै छ ।
मुलुकका सम्पूर्ण गाविसलाई तीन लाख रुपियाँको निकासा गराएर विकास निर्माणमा नयाँ आयाम थप्नुभयो । आज त्यही रकमबाट उच्च पहाडी श्रृंखलामा गाडी दौडिएका छन् । शिक्षण संस्था खोलिएका छन् । र, विकासले गति लिएको छ ।

  •  
  •  
  •