मनीषा भन्छिन्- ‘कसरी जोगी बन्न सक्छु र ?’

531
  •  
  •  
  •  

‘मनिषा तपाईंलाई कस्तो छ ?’ नेपालमा जन्मिएर कुनै समय कलिउडमा धुम मच्चाएकी मनिषा कोइरालालाई भेट्नासाथ पत्रकारहरूले घेरेर झण्डै एकै स्वरमा प्रश्न फ्याँके ।

नयादिल्लीको हायात रिजेन्सी होटलमा एउटा सामाजिक सञ्जालको ब्रान्ड एम्बेसेडरका रुपमा हँसिलो मुद्रामा उनी प्रस्तुत भएकी थिइन् । लाग्थ्यो उनलाई यसअघि क्यान्सर भएकै थिएन । ‘मेरो स्वास्थ ठीक छ । विल्कुल ठीक भएकी छु । शुभचिन्तकहरूको आशिर्वादले मलाई सञ्चो भएको छ’, कालो बुट्टेदार कुर्ता र कालै लेगिन्समा प्रस्तुत भएकी उनले क्यामेरासहित घेरिरहेका पत्रकारहरूलाई आस्वस्त तुल्याइन् ।

केहीसमय अघिसम्म किमोथेरापीका कारण मुडुलो भएको टाउको देखेका पत्रकारहरू उनको घुमि्रएको बाक्लो कपालमा आँखा लगाइरहेका थिए । जसै पत्रकारहरूले उनलाई क्यान्सरसँग गुजारेका दिनबारे सोधे, उनी भावुक भइन् ।  क्यान्सरसँगको संघर्षका दिन निकै मुस्किलले गुजारेको बताइन् उनले । ‘मेरा लागि यो लाइफ चेन्जिङ एक्स्पेरिएन्स थियो,’ रोगसँगको लडाईं जितेकी उनी दार्शनिककै रुपमा प्रस्तुत भइन्, ‘मानिसले हरेक दुखका घडीहरूसँग जुध्नुपर्छ । त्यसबाट पार पाउन सक्यो भने मान्छेले वास्तविक जीवन जिएको ठहर्छ ।’

रोगसँगको संघर्षले एउटा चिकित्सकलाई जतिकै ज्ञान दिएको छ उनलाई । ‘हामी पैसा कमाउने ध्याउन्नमा आफ्नो स्वास्थ्यको ख्यालै गर्दैनौं’, उनले अनुभव बाडिन्, ‘धेरै स्ट्रेस लिन्छौं । आफ्नो स्वास्थ्यलाई पछाडिको सिटमा राख्छौं । यसले गम्भिर समस्या निम्त्याउँछ ।’ त्यसैले उनी सबैलाई तनावबाट मुक्त रहन सल्लाह दिन्छिन् । जीवनमा कठिनाइ सबैलाई आउँछ,’ उनले प्रवचन दिएकै शैलीमा भनिन्, ‘त्यसबाट भाग्नु हुन्न, जुध्यो भने सफलता अबस्य हात लाग्छ ।’

सँगुन डटकमको लंचिङपछि उनी भारतीय पत्रकारहरूको वन बाइ वन इन्टभ्र्युमा सामेल भइन् । उनलाई कार्यक्रम नसकिँदै मुम्बइ उड्ने हतारो थियो । मलाई समूहमा भारतीय पत्रकारहरूले सोधेका प्रश्नमा उनले दिएको उत्तरमा मात्र चित्त बुझेको थिएन ।  नेपाली पत्रकारका रुपमा आफूलाई चिनाएपछि मनिषा उत्साहित हुँदै कुरा गर्न तयार भइन् । खाना खाएपछि पहिरन फेरेर निलो सर्ट र कालो पाइन्टमा प्रस्तुत भएकी उनले होटलको लविमा कुरा गर्न आग्रह गरिन् । जसै हामी अन्तर्वातामा थियौं, उनलाई होटलका सयौं आखाले घेरिरहेका थिए ।

रोगबाट मुक्त भएपछि उनको दैनिकी बदलिएको रहेछ । उनलाई निरंतर यात्रा गरिरहनुपर्छ । त्यसले भने रुटिनलाई प्रभावित गर्छ । ‘लामो समय एकै ठाउँमा बस्ने अवसर पाए भने मेडिटेसन, योगा, बि्रदिङ एक्सरसाइजहरू गर्छु,’ उनले सुनाइन्, ‘त्यसपछि आरामले निदाउँछु । त्यसपछि मात्र अरु काम मेरो प्राथमिकतामा पर्छ ।’

अब उनको योजना के छ ? राजीनिमा समर्पित कोइराला परिवारकी यी नातिनी के राजनीतिमा आउलिन् ? ‘हजुरबुबाको पालाको जस्तो आदर्शवादी राजनीति अहिले छैन,’ उनी तर्किन खोजिन्, ‘राजनीतिमा जानेले दाउपेच, छलछाम, जालझेल, तिकडम सबै कुरा जान्नु पर्छ । त्यस्तो क्षमता मसँग छैन ।’

हजुरबा बिपि कोइरालाको सतबाषिर्की मनाइरहेको छ मुलुकले । उनी हजारबालाई कसरी सम्झन्छिन् त ? उनले केही साताअघि अमेरिकामा रहँदाको दिन स्मरण गरिन् । ‘यसपाली भर्जिनियामा रहनु भएकी चेतना दिदी (फुपु) को मा गएकी थिएँ । उहाँ बीपीको छोरी हुनुहुन्छ,’ उनले सुनाइन्,  ‘उहाँसँग रहदा हामीले हजुरबुबालाई निकै मिस गर्‍यौं । दिदीले हरेक कुरामा हजुरबुबाको याद दिलाउनु भयो ।’

उनी त्यस्तो परिवारमा जन्मिइन, जसले उनलाई सुरुमै पहिचान दियो । ‘मैले सुरुमै परिवारको पहिचान लिएर सबैतिर चिनिने मौका पाएँ,’ उनले भनिन्, ‘त्यसले गर्दा म आफूलाई गौरवान्वित महसुस गर्छु । म सानै हुँदा हजुरबुबा वित्नु भएकाले उहासँगको सामिप्यताको मलाई त्यति सम्झना त छैन । तर कोइराला परिवारप्रति सर्बसाधारणको क्रेज देखेर म उहाँको ब्यक्तित्वको उचाइ कल्पना गर्न सक्छु ।’

उनको दृष्टिमा बिपीसँग ब्यक्तिगत आकाँक्षा पटक्कै थिएन । ‘उहाँले जति गर्नु भयो, देशकै लागि गर्नु भयो,’ उनले सम्भिmइन्, ‘उहाँको पथलाई सिंगो कोइराला परिवारले पछ्यायो ।’ बिपीको सोचाइ निकै फराकिलो रहेको उनलाई लाग्छ । ‘उहाँ त्यतिखेरको महान् क्रान्तिकारी हुनुहुन्थ्यो, उनको सम्झना छ्, ‘त्यतिखेरै देश र जनताका लागि क्रान्तिमा समर्पित भएर लाग्नु चानचुने कुरा हैन ।’

उनी सानैदेखि शुशिला (बिपी पत्नी) सँगै हुकिइन् । ‘बिपीलाई त्यस उचाइमा पुर्‍याउन सुशीला आमाको पनि त्यतिकै हात थियो भन्ने मलाई लाग्छ,’ उनले सुनाइन् ।

बिपीको साहित्यमा पनि त्यतिकै महत्वपूर्ण योगदान छ । यद्यपि नेपाली पढ्न समस्या हुने भएकाले मनिषाले हजुरबाको कृतिबारे त्यति बुझ्न पाएकी छैनन् रे । अरुबाट सुन्दा उहाँमा साहित्य सिर्जनाको ठूलो क्षमता थियो ।

मनिषाले नेपाली, हिन्दी, तमिल, बंगाली, मलायालगायत भाषाका ६ दर्जनभन्दा बढी फिल्म खेलिन् । नेपाली फिल्म फेरि भेटौंलाबाट करियर सुरु गरेकी उनको हिन्दी डेब्यु फिल्म भने सुभाष घइको सौदागर थियो । त्यसपछि उनले गरेका अकेले हम, अकेले  तुम, १९४२ ए लभ स्टोरी, अग्नीसाक्षी, लग्गा, खामोसी, बम्बे, कम्पनी, ग्रहणलगायतका फिल्म निकै हिट भए । मनिरत्नमको बम्बे, रामगोपाल बर्माको कम्पनी फिल्मबाट त उनले बेस्ट एक्ट्रेसको फिल्मफेयर अवार्ड समेत जितिन् ।

उनी फेरि पर्दामा धमाल मच्चाउने गरी आउलिन् ? उनले तत्काल त्यस्तो योजना नरहे पनि आगामी जनवरीदेखि आफू फिल्ममा फर्किने संकेत गरिन् । उनले कुन फिल्मबाट दर्शक सामु आउने भन्ने बताउन चाहिनन् । ‘लामो लिस्ट छ,’ उनले भनिन् ।

नेपाली फिल्ममा उनको उपस्थिति त्यति देखिएन । फेरि भेटौंलापछि उनले केही बर्षअघि मात्र आएर धर्मा गरिन् । त्यसले त्यति चर्चा पाउन सकेन । किन उनी नेपाली फिल्ममा त्यति जम्न सकिनन् ? ‘मैले हिन्दीमा पनि त्यति गरेकी छैन,’ ६ दर्जनभन्दा बढी फिल्ममा आफूलाई अब्बल कलाकारका रुपमा प्रस्तुत गरिसकेकी उनी आदर्शवादी भएर प्रकट भइन् । भनिन्, ‘राम्रो विषयबस्तु नपाएर नगरेकी हु । मैले क्वान्टिटीभन्दा क्वालिटीमा जोड दिएकी छु । त्यसको असर होला सायद ।’

उनी अबको समय क्यान्सरबारे सचेतना जगाउने अभियानमा समेत छिन् । उनले मुम्बइबाट दिल्ली आउँदै गर्दाको एउटा घटना शुभेच्छुकलाई बाँड्न चाहिन् । ‘उडानका क्रममा मेरो छेउमा एउटी महिला बसिरहेकी थिइन् । मैले मेरो आमालाई मेरो छेउमा बस्न दिनुहुन्छ ? भनेर उनलाई सोधें’ उनले भनिन्, ‘मनिषाजी तपाईंका लागि म जस्तोसुकै त्याग गर्न तयार छु । किनभने तपाईंले मेरो जिवन बचाउनु भयो । तपाईंले क्यान्सरबारे चेतना जगाउनु भयो । टेलिभिजन अन्तर्वार्ताहरूमा महिलाहरूले ४० बर्ष कटेपछि नियमित चेकजाच गराउनु पर्छ भन्नु भयो । तपाईंको सुझावअनुसार मैले चेकअप गराएँ । मलाई रोगले गाँज्नै लागेको रहेछ । मैले जँचाएर खतरालाई टारेछु,’ ती महिलालाई उधृत गर्दै मनिषाले भनिन्, ‘यसरी अरुलाई बचाउन सकेकामा मलाई गौरब महसुस हुन्छ ।’

उनले सँगुनको ब्रान्ड एम्बेसडर बन्नुको एउटा कारण अभियानमा सघाउने आस्वासन रहेछ । ‘क्यान्सरबारे सचेतना जगाउन सँगुनले सघाउने भएकाले जोडिन आएकी हुँ,’ उनले भनिन् । उनी सामाजिक संजालकी नियमित प्रयोगकर्ता हुन् । उनको आफ्नै वेवसाइट मनिषाकोइराला डट नेट डट आइएन छ । ‘सामाजिक संजाल सेलिब्रेटीहरूलाई निकै आवश्यक छ,’ उनले आफू जोडिनुको कारणबारे तर्क गरिन्, ‘यसले आफ्ना फ्यान, घृणा गर्नेहरू सबैसँग एक/एक गरेर फिल्टर नगरी अन्तर्क्रिया गर्न सकिन्छ ।’

उनी लामो समयपछि दिल्ली आएकी थिइन् । उनले त्यहीँको आर्मी स्कुलमा पढेको सम्झिइन् । ‘यहाँ मैले स्कुलकी क्लासमेटलाई भेटें,’ उनले सुनाइन्,  ‘उनी विबाहित छिन् । उनको बच्चा छ । उनलाई भेटेर निकै रमाएँ ।’

उनले कुनै समय आफूलाई जोगी भएको घोषणा गरेकी थिइन् । साँच्चै जोगी भएकी हुन् त ? ‘क्यान्सर रोग लागेपछि मैले मृत्युलाई नजिकबाट देखें,’ उनले त्यसो भन्नुको कारण बताइन्, ‘लामो समय इलनेसबाट गुजार्दा मलाई बाँच्छु कि बाँच्दिन भन्ने लागेको थियो । त्यतिखेर मलाई जीवन साच्चै क्षणिक रहेछ भन्ने लाग्यो ।’ उनले यसो भनिरहँदा त्यसै दिन बिहानमात्र सुरेश बाबु (गिरिजाप्रसादका छोरा) को मृत्यु भएको खबर सुनेको सम्झिइन् ।  मृत्यु नजिक छ भन्ने कुरालाई नबुझेसम्म मान्छे आफ्नो स्वार्थको पछि दौडिइरहन्छ । उनले मृत्युलाई नजिकबाट चिनेपछि स्वार्थबाट मुक्त भएकाले त्यसैलाई अरुले जोगी भएको अर्थमा बुझेको बताइन् ।

बैबाहिक जीवनको असफलता, क्यान्सरसँगको संघर्ष, एक समयको चरमचुलीको लोकप्रियताबाट बाहिरिएको अवस्थामा उनलाई केही दिक्दार लाग्नु स्वभाविकै होला । रोगमुक्त भएपछि जीवनले एउटा लय समात्दै गएकाले हुनसक्छ, उनले आफ्नो पुरानो भनाइलाई सच्च्याउँदै भनिन्, ‘म सबै कुरा त्यागेर कहाँ जोगी बन्न सक्छु र ? मेरा शुभेच्छुकले त्यसो गर्न देलान् र ?’


  •  
  •  
  •