मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक(सूचीसहित)

58
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक गरेको छ । आयोगले २० वर्षमा ११ सय ५५ वटा मानव अधिकार उल्लङ्घनका घटनामा कारबाहीको लागि सिफारिस गरेका दुई सय ८६ जनाको विवरण सार्वजनिक गरेको हो ।

यसरी मानव अधिकार उल्लङ्घन गर्नेमध्ये नेपाल सरकारका पूर्व सचिवसहित १६ जना निजामती कर्मचारी, पूर्वआईजीपी कुवेरसिंह राणासहित ९८ जना प्रहरी, आठ जना सशस्त्र प्रहरी, ८५ जना सेना, ६५ जना माओवादीका नेता तथा कार्यकर्ता, चार जना शिक्षक, दुई जना डाक्टर, सात जना कैदी र एक जना मानवअधिकारकर्मी नै रहेका छन् ।

यीमध्ये ३० जनालाई कारबाही भए पनि दुई सय ५६ जनालाई कारबाही नभएको आयोगले जनाएको छ । आयोगले बिहीबार प्रकाशन गरेको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वसँग सम्बन्धित नौ सय ४० वटा र अन्य दुई सय ५५ वटा सिफारिस रहेका छन् ।

आयोगका एक सय ६३ वटा पूर्ण कार्यान्वयन भएका, चार सय ४५ वटा आंशिक कार्यान्वयन भएका र पाँच सय ८७ सिफारिस अझै कार्यान्वयन भएका छैनन् । आयोगका सिफारिस कार्यान्वयनको लागि नेपाल सरकार, सर्वोच्च अदालत, संसदीय समिति, नागरिक समाज र संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम लगायतबाट प्रयास हुँदा पनि सन्तोषजनक नभएको आयोगले जनाएको छ ।

पीडितको जीवन स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई आर्थिक लेनदेनमार्फत टुङ्ग्याउँदा दण्डहीनता बढेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका सिफारिसहरुको कार्यान्वयन गर्न नेपाल सरकारका विभिन्न निकायहरु बीच अन्तर मन्त्रालय कार्यान्वयन कार्यदल बनाई त्यसको समन्वय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रभावकारी ढङ्गले गर्नस आयोगबाट सिफारिस गरिएका घटनाहरुको क्षतिपूर्ति सम्बन्धमा सिफारिस बमोजिम नै क्षतिपूर्ति दिइएको हो भनी स्पष्ट रकम खुलाई जानकारी गराउन, आयोगका वार्षिक प्रतिवेदनहरु उपर संघीय संसद र प्रदेश सभाहरुमा छलफल हुनस राजनीतिक दलहरुको घोषणापत्रमा उल्लेख भएका मानव अधिकार प्रतिको प्रतिबद्धता राजनीतिक दलहरुबाट कार्यान्वयन हुनस दण्डहीनताको स्थिति अन्त्य गरी मानव अधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गर्ने, गराउने सन्दर्भमा नेपाल सरकारलाई आवश्यक निर्देशन दिन विषयगत संसदीय समितिहरुलाई पनि प्रतिवेदनमा आग्रह गरिएको छ ।

हेर्नुहोस्


  •  
  •  
  •