मानव बेचविखन रोक्न ‘पलेर्मो प्रोटोकल’ आवश्यक

613
  •  
  •  
  •  

काठमाडौं । मानव बेचविखन रोक्न नेपालमा पलेर्मो प्रोटोकल(अन्तदेशीय संगठित अपराध विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि) आवश्यक रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय मानव बेचविखान तथा ओसार पसार विरूद्धको दिवसको अवसरमा महिला कानून र विकास मञ्च, युएस उड, युके एड र विनरकले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमका सहभागिले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा सहभागिले पछिल्लो समय नेपालमा मानव बेचविखनका घटना बढ्दै गएको भन्दै त्यसलाई रोक्न र प्रमाण र कानूनी सहायता प्रदान गर्न पलेर्मो प्रोटोकल आवश्यक रहेको बताएका थिए ।

नेपाल सरकार मन्त्रीपरिषद्का सहसचिव कौशल चन्द्र सुवेदीले संगठित रुपमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि उक्त प्रोटोकलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘विशेष गरि पलेर्मो प्रोटोकलले महिला र बालबालिकाको ओसारपोसार रोक्न, पीडितलाई न्याय दिन र अपराध नियन्त्रणका लागि सहयोग पुग्ने छ ।’  उनले सो प्रोटोकलले बेचविखनमा परेकाको उद्दार, पुनस्र्थापना, क्षतिपूर्तिको समेत व्यवस्था गर्ने भएकाले यसको क्षेत्र र दायर फराकिलो रहेको बताए ।

अन्तरदेशिय संगठित अपराधलाई संयुक्त रुपमा सम्बोधन गर्ने प्रयोजनको लागि संयुक्त राष्ट्र संघद्वारा अन्तरदेशिय अपराध विरुद्धको महासन्धि जारी गरेको हो । यस महासन्धिलाई नेपालले १२ डिसेम्बर २००२ मा हस्ताक्षर गरेको थियो भने २३ डिसेम्बर २०११ मा अनुमोदन गरिसकेको छ ।  अहिले यस सम्बन्धि विद्येयक संसदमा विचारधिन अवस्थामा रहेको छ ।

कार्यक्रममा महिला, कानून र विकास मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले अहिले मानव बेचविखनको अवस्था चुनौतिको रुपमा देखिएको भन्दै यसको स्वरुपमा समेत परिवर्तन आएको बताए ।

उनले भने, ‘नेपाल मानव बेचविखनको सन्दर्भमा बढी प्रभावित हुने गरेको छ । यो प्रोटोकलमा प्रमाण र कानूनी सहायता समेत प्रदान गर्नुपर्ने उल्लेख हुँदा नेपालका लागि लापदायिक देखिन्छ ।’

कार्यक्रममा अधिवक्ता रोसना प्रधानले मानव बेचविखन नियन्त्रण गर्न यस प्रटोकलबाट अन्तर्राष्ट्रिय सहयोग लिन सकिने हुँदा यसको प्रभावकारी भूमिका रहने बताइन् ।


  •  
  •  
  •