भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

62
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी हुन् । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् ।

समारोहपछि राष्ट्रपति भण्डारीसँग भारतीय सेनाध्यक्ष नरवणेले शिष्टाचार भेट गर्दै आफूलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरेका थिए ।
भारतीय नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।
समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए ।


  •  
  •  
  •