लाइसी दिदी अहिले कहाँ होलिन् ?

165
  •  
  •  
  •  

कोहि कोहि जीवनमा एक पटक मात्र भेटिन्छन् । गहिरो छाप छोडेर जान्छन् । यो धर्तिमा ति छन् कि छैनन् कहिलै थाहा हुँदैन् । सूचनाका जतिसुकै महामार्गहरु खुलेपनि ती सम्म पुग्ने सुरुङ्ग पत्ता लाग्दैन ।

मनऋषी धिताल

क्यानाडाको मोण्ट्रियल शहरबाट सन् १९८७-८८ तिर जुम्लामा आइ भाषा विज्ञानमा खोज अनुसन्धान गरेकी लाइसी दिदी अहिले कहाँ होलिन ?

उनले भनेका कुरा हुन् वा मेरो सपना हो ? उनी समाजशास्त्रमा स्नातकोत्तर गर्न त्रिभुवन विश्वविद्यालय आइन् । जुम्ला रोजिन् । काठमाडौं आवत–जावत गर्ने जुम्लाका ललितजंग शाहीको सम्पर्कमा आइन् । सिंजा जाने निधो गरिन् ।  उनले धिताल लिहिकी उनकी दिदी नाता पर्ने खुम्मेनी रोकायाको सम्पर्कमा पठाए ।

हामी मोफ्ला स्कूलबाट मूल बाटोमा झर्दा धाराको छेउमा खाना बनाइरहेका एक पथप्रदर्शक र त्यो भन्दा पहिले कहिले पनि नदेखेकी अग्ली गोरी आँखा र कपाल पनि अनौँठो रंगको भएकी एक महिला देखेका थियौँँ ।

साझ परेपछि ति अचम्मकी महिला बास सोध्दै खुरु-खुरु खुम्मेनी आमाकोमा आइन् । खुम्मेनी आमा हाम्री मितिनी आमा पनि हुन् । उनले तिनलाई देखे पछि डराइन् । भनिन्, ‘यिनलाई देखेपछि मेरी छोरीहरु डराउँछिन् । मत् राख्न सक्दिन ।’

त्यसपछि खैलाबैला भो गाउँमा । त्यसो त हिउँदको समय गाउँमा महिला र हामि केटाकेटी मात्रै थियौँ । उनले पुरुष नभएको घरमा बस्ने भनेकी थिईन । खुम्मेनी आमाकी दुई छोरी विस्ना र राधा मात्रै थिए तर त्यहाँ नहुने भएपपछि अलि धार्मिक स्वभावकी लजिसरा धिताल (मेरो फुपू नाता पर्ने) ति अनौठी महिलालाई भगवान हुन् भन्दै आफ्नो घरमा राख्ने भइन् ।

ति थिइन् (लाइसी दिदी) तिनले आफ्नो बस्ने कोठामा रेडियो बजाइन् । ‘हामीले रेडियो छोयौँ,’ तिनले राति अध्याँरोमा बाल्ने टर्च हामीलाई छुन दिईन । मैन बत्ति बालेर उनले लेखपढ गरेको देखियो । उज्यालो दिने दियालोको विकल्प पनि हुन्छ भन्ने देख्दा हामि अचम्मित भयौँ।

उनका दिन बित्त्दै गए । लाहुरे जेठाबाले देउता थानमा पढाएको कपुरी ‘क’को जगमाथि लाइसि दिदिले आफ्नै कोठामा बोलाएर हामीलाई अंग्रेजीको ‘ए’ थपिन । क्रमश उता ‘ज्ञ’ र एता ‘जेड’ सम्म जान्ने भयौँ ।

फोटोः प्रिन्टर कृष्ण

उनि मलाई गाउँ भन्दा टाढा रोकबाडाको धारामा आफु नुहाउन जादा संगै लैजान्थिन र चिप्लो चिप्लो डल्लोले मेरो मुख धोई दिन्थिन् । त्यो साबुन हो भन्थिन । उनी नुहाएपछि पारिलो घाममा धारा नजिकको ढुंगामा मस्त निदाउँँथिन र म उनको सुरक्षाकोलागि गोठालो बस्थे । कहिलेकाही हाम्रोमा आउँँथिन (आमाले तताएको ‘घोडामच्चो’ भन्ने जडिबुटीको झोल पिउँथिन र भन्थिन ‘चिया मिठो छ ।’ उनले त्यसलाई चिया मानिन् । र हामीले चिया भन्ने अर्को पनि केहि हुन्छ भन्ने थाहा पायौँ ।

उनले एकदिन हामि दुई भाइ आमा र दिदीलाई हाम्रो स्याउको रुखमुनी उभिन भनिन् । भाइ आमाको काखमा बस्यो । दिदी र म आमासँगै उभिए । दिदीले अलिपरबाट एक आँँखा चिम्लेर अर्को आँखाले हेर्दै कुन्निके झिल्लिकै पारिन । सकेर हाम्रो छेउ आइन् । त्यो चिया पिइन र भनिन् । यो क्यामेरा हो मैले सबैको फोटो खिचे ।

त्यसपछि हाम्रो जीवनमा उतार चडाव आयो । फागुन लागेपछि आमाको निधन भो । चैत लागेपछि लाइसी दिदी फर्किन । मङ्सिर लागेपछि हामि सदाकालागि तराइ झर्येउ । त्यसपछिका तिस वर्षमा न ति दिदी भेट भएकी छिन् । न उनको केहि खबर पाउन सकेको छु । हाम्रो जीवनको पहिलो र मेरी आमाको जीवनको पहिलो र अन्तिम फोटो कस्तो छ होला ?

फोटोः देवेन्द्र थुम्केली

क्यानाडा तिरका साथीहरुलाई खोज्न भने । काठमाडौंमै कति खोजे मैले कुनै पत्तो लगाइन । आज उनको सम्झना आयो । र, यी शब्द लस्कर लागे । कोहि कोहि जीवनमा एक पटक मात्र भेटिन्छन् । गहिरो छाप छोडेर जान्छन् । यो धर्तिमा ति छन् । कि छैनन् । कहिलै थाहा हुँदैन । सूचनाका जतिसुकै महामार्गहरु खुलेपनि तिसम्म पुग्ने सुरुङ्ग पत्ता लाग्दैन ।

त्यो बेला विस वर्षकी लाइसी दिदी अहिले पचास वर्ष काटिन । कसैले भेट्नुभो भने भनिदिनुस है ? लाइसी अनकन्टार पाखा र अध्याँरा खोल्सामा तिमि मस्त निदाउँदा तिम्रो अस्मिताको गोठालो बस्ने त्यो सिगाने भाइले झल्झली सम्झी रहेको छ । जीवनको त्यो पहिलो फोटो फिर्ता देउ रे । मेरी आमाको अनुहार कस्तो थियो एक पटक हेर्न मन लाग्यो । सौराइ मेट्न मन लाग्यो।
समाजशास्त्री मेरि डेशेनलाइ धेरै धेरै धन्यवाद । उहाँले अमेरिकामा रहेर लाइसी दिदीको खोजि गर्ने भरपुर कोशिश गर्नुभयो ।

धितालकाे फेसबुकबाट साभार


  •  
  •  
  •