मलेसियन कम्पनीले किन्यो एनसेल

231
  •  
  •  
  •  

काठमाडौँ, ६ पुस(ओएनएस) : मलेसियाको एक्जियटा समूहले नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल खरिद गरेको छ । एसियाकै सबैभन्दा ठूलो सञ्चार समूह एक्जियटालाई टेलियासोनेराले आफ्नो ६०.४ प्रतिशत स्वामित्व बिक्री गरेको हो ।

एक्जियटा र टेलियासोनेराबीच १०३० मिलियन(करिब १ खर्ब ४० अर्ब नेपाली रूपैयाँ)मा किनबेच गर्ने सम्झौता भएको टेलियासोनेराले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । टेलियासोनेराले सोमबार विज्ञप्ती जारी गर्दै आफूसँग भएको ६० दशमलब ४ प्रतिशत सेयर १०३० मिलियन अमेरिकी डलरमा बिक्री गरेको जनाएको हो ।

यस्तै भाइजर समूहसँग रहेको १९.६ प्रतिशत सेयर पनि एक्जियटा समूहले किन्ने भएको छ । यस अनुसार एक्जियटा कम्पनीले आफूसँग ८० प्रतिशत स्वामित्व राख्ने भएको छ ।

नेपालमा विदेशीको लगानीमा कुनै पनि संस्था स्थापना गर्दा नेपाली नागरिकको कम्तिमा २० प्रतिशत शेयर हुनुपर्ने प्रावधान अनुसार एक्जियटाले ८० प्रतिशत स्वामित्व लिन लागेको हो । बाँकी २० प्रतिशत शेयर अहिले निरज श्रेष्ठको नाममा छ र उक्त शेयर पनि सिंगापुरमा बस्दै आएकी नेपाली नागरिक भावना सिंह श्रेष्ठले खरिद गर्ने बताइएको छ ।

मलेसियन कम्पनी एक्जियटा समूहले एसियाका विभिन्न देशमा मोबाइल सेवा सञ्चालन गर्दै आएको छ ।


  •  
  •  
  •