मलेसियाका मानव संसाधनमन्त्री नेपाल आउँदै

235
  •  
  •  
  •  

काठमाडौं ४ भदौ (ओएनएस) : मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइम नेपालको दुईदिने कार्यगत भ्रमणमा आज नेपाल आउँदैछन् । भ्रमणका बेला हुने भनिएको द्विपक्षीय श्रम सम्झौता भने नहुने भएको छ।

आफ्नो मुलुकमा नेपाली आप्रवासी कामदारको व्यवस्थापनबारे नेपाल सरकारका उच्च सरकारी अधिकारीसँग विचारविमर्श गर्न उनको भ्रमण हुन लागेको छ । हालसम्म सरकारले महिलालाई उक्त मुलुकमा घरेलु कामदारका रूपमा त्यहाँ जाने औपचारिक अनुमति दिएको छैन । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले पनि महिला कामदारका बारेमा पनि छलफल हुने जानकारी दिँदै त्यसबारे निर्णय हुनेमा आफू विश्वस्त नरहेको स्पष्ट पारे।

उनले भने–“मलेसियाली मन्त्रीसँगको श्रम राज्यमन्त्री र अन्य सरकारी अधिकारीहरूले गर्ने वार्तामा केही निर्णय हुँदैन ।”श्रम सम्झौता गर्नेसम्बन्धी समझदारीपत्रको मस्यौदा सरकारले मलेसिया पठाइसकेको सन्दर्भमा त्यसमा मलेसिया पक्षको धारणा बुझ्न र त्यसलाई शीघ्र टुङ्ग्याउने दिशामा मन्त्री जइमको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै उनले विविध कारणले बन्दीगृहमा रहेका नेपालीलाई चाँडोभन्दा चाँडो स्वदेश फर्काउने बारेमा गहन छलफल गरिने बताए।

नेपाली श्रमिकको हतहित संरक्षण, नेपालका वैदेशिक रोजगार व्यवसायीको त्यहाँका रोजगारदाता कम्पनीसँग प्रत्यक्ष सम्बन्ध स्थापना, मलेसिया जान चाहने नेपाली कामदारले तिर्नुपरेको चर्को मूल्य घटाउने विषयलाई सरकारले उच्च प्राथमिकताका साथ उठाउने जानकारी पनि प्रवक्ता खड्काले दिए। मलेसियाले विगत १३ वर्षदेखि नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । हाल उक्त मुलुकमा झन्डै सात लाख नेपाली कार्यरत छन् । मलेसियाले बङ्गलादेशी कामदारमाथि प्रतिबन्ध लगाएपछि नेपाली श्रमिकको माग बढेको पनि राजदूत बस्न्यातले बताए।

उनका अनुसार सन् २०२० सम्ममा विकसित मुलुकको सूचीमा आफूलाई स्थापित गर्न मलेसियाले आफ्नो भौतिक एवम् आर्थिक विकासका गतिविधि सहजरूपमा सञ्चालन गर्न ठूलो सङ्ख्यामा आप्रवासी कामदारलाई रोजगारीका अवसर प्रदान गर्दै आएको छ । हाल उक्त मुलुकमा ३० लाख आप्रवासी कामदार छन् । नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसँग उनले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको राजदूत बस्न्यातले बताए।


  •  
  •  
  •