मलेसियाले नेपालबाट घरेलु कामदार लिने

103
  •  
  •  
  •  

काठमाडौं ६ भदौ । नेपाली कामदारको मुख्य श्रम गन्तव्य मलेसियाले घरेलु व्यवस्थापनका लागि पनि नेपाली कामदार लैजाने भएको छ। अहिलेसम्म मलेसियाले निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र नेपाली कामदार लिँदै आएको। नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संसाधन मन्त्री दातुक रिचार्ड रियट जइमले त्यहाँको सरकारले नेपालबाट घरेलु कामदार लिने निर्णय गरिसकेको जानकारी गराए। उनका अनुसार नेपाली महिला ‘हाउस म्यानेज वर्कर’को रुपमा त्यहाँ जान पाउने छन्। यो ‘हाउसमेड’ भन्दा राम्रो काम हो।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निमन्त्रणमा दुईदिने भ्रमणमा बुधबार काठमाडौं ओर्लेका जइमले बिहीबार गुरुङसँग मन्त्रालयमा भेटवार्ता गरेका थिए। सोही बेला उनले मलेसियामा नेपालीको काम सबैले मन पराएको हुनाले जनरलसहित ‘हाउस म्यानेज वर्कर’ पनि लिने निर्णय भएको बताए।
मानव संसाधनमन्त्री जइमले आफ्नो देशले अरु मुलुकबाट पनि घरेलु कामदार लगिरहेकोले नेपाली कामदारलाई प्राथमिकतामा राख्दै घरेलु कामदारभन्दा माथिको घर व्यवस्थापनसम्बन्धी काममा लैजाने बताए। ‘नेपाली कामदार मेहनती र वफादार भएकाले हामीले घरेलु कामदार लिन लागेको हौं,’ उनले भने, ‘हाम्रो मन्त्रिपरिषदले नेपालबाट घरेलु कामदार लिने निर्णय गरिसकेको छ।’

श्रम राज्यमन्त्री गुरुङले भेटमा नेपालबाट घरेलु कामदार पनि लिन आग्रह गरेका थिए। भेटमा नेपाली कामदारका समस्यासँगै श्रम सम्झौता, गैरकानुनी नेपाली कामदार, बायोमेटि्रक, भिएलएनका विषयमा कुरा उठाएको गुरुङले जानकारी दिए। ‘हामीले उठाएका समस्यामा मलेसियाले चासो व्यक्त गरेको छ,’ उनले भने।
राज्यमन्त्री गुरुङका अनुसार घरेलु कामदार लिन दुवै देशको संयुक्त टोली बनाउने सहमति भएको छ। दुई हप्ताभित्र सचिव र सहसचिव सम्मिलित संयुक्त टोली बनेपछि त्यसले मापदण्ड बनाउने र प्रक्रिया अघि बढाउने छलफल भएको गुरुङले जानकारी दिए। नेपाली पुरुष र महिला कामदारलाई घरेलु व्यवस्थापन कामदारको रुपमा लिने प्रस्ताव मलेसियाले गरेको उनले बताए। घरेलु कामदारलाई मासिक नौ सय रिंगेट (२७ हजार रुपैयाँ हाराहारी) तलब हुने उनले बताए। नेपालले घरेलु कामदारका लागि छुट्टै श्रम सम्झौता गर्नुपर्ने प्रस्ताव राखेको छ। गुरुङका अनुसार यस विषयमा संयुक्त टोलमा छलफल हुनेछ।


  •  
  •  
  •