सशस्त्रलाई मलेगोको निर्देशन, ‘चेन अफ कमाण्डमा रहनू’

227
  •  
  •  
  •  

काठमाडौँ, १९ पुस(ओएनएस) : गृहसचिव नारायणगोपाल मलेगोले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरीक्षण गरी सशस्त्र प्रहरीका कामकारवाहीबारे जानकारी लिएका छन् । त्यस क्रममा सचिव मलेगोले एपीएफ अधिकृत तथा जवानहरुलाई सम्बोधन गर्दै दायित्व निर्वाहको क्रममा समन्वयात्मक ढंगबाट चेन अफ कमाण्डमा रही उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन पनि दिए ।

केही समयअघि सशस्त्र प्रहरीको नेतृत्व र वरिष्ठ अधिकारीबीच भनाभन र अश्लील गालीगलौजसम्म भएका खबर आएका थिए । महानिरीक्षक कोषराज वन्त भ्रष्टाचार प्रकरणमा छानबिनमा परेपछि उनलाई निलम्बन गरी सरकारले दुर्जकुमार राईलाई कायममुकायमको जिम्मेवारी दिएको छ ।

आइतबारको कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु जीवनकुमार थापा, कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा लगाएत काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बलका विभिन्न इकाईका प्रमुखहरु एवं एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

कामु महानिरीक्षक राईले धन्यवाद ज्ञापनको क्रममा जस्तोसुकै नवीन चुनौतीलाई सामना गर्न सशस्त्र प्रहरी बलले गर्नुपर्ने कार्यान्वयनका क्षेत्रमा कुनै सम्झौता नगरी उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुसँग व्यावसायिक मित्रता कायम गरी समन्वय र सहकार्य गर्दै मातृभूमि तथा आम नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धार कार्यमा सशस्त्र प्रहरी बल सदैव समर्पित रहने राईको भनाइ थियो ।

राईले सुरक्षा चुनौती, सशस्त्र प्रहरी बलको परिचालन, स्रोत साधन तथा जनशक्ति, नागरिकको सेवा, सुरक्षा तथा सहयोग र उद्धारमा भएका कामकारवाही लगायतका विषयमा पनि जानकारी गराएका थिए ।

गृहसचिव मलेगोले निरीक्षणपछि विनासकारी भूकम्पका बेला सशस्त्र प्रहरी बलले साहसिक ढंगबाट जिम्मेवारी पूरा गरी संगठनको छविलाई उच्च तुल्याएको स्मरण पनि गरे । ‘यो राष्ट्र सेवाको अवसर हो र यस्तो अवस्थामा हामीले के योगदान दिन सक्छौं भनेर पेसागत दायित्व निर्वाहमा दत्तचित्त भएर कार्य गर्नुहोला,’ उनको भनाइ थियो, ‘आफ्नो जिम्मेवारीका क्षेत्रप्रति सचेत भएर सामूहिक भावनाका साथ कार्यक्षत्रमा क्रियाशील रहनुहोला ।’

महानिरीक्षक राईले सरकारले अवलम्बन गरेको सुशासनको नीतिलाई अक्षरशः पालना गर्दै आर्थिक अनुशासन र व्यावसायिक पारदर्शिता कायम गरी भ्रष्टाचार, मानव अधिकार तथा लैंगिक हिंसाका घटनामा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाए । संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाई सेवा विशिष्टीकरण गर्दै कुशल, व्यावसायिक र व्यवहारिक बनाउँदै आफ्नो सेवा आफ्नै पहलमा जनतासम्म पु¥याउने उनको भनाइ थियो । नागरिकको भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन संगठनले गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी नराखिने उनले उल्लेख गरे ।र्
ुहोस् ।


  •  
  •  
  •