मलेसियामा अवैधानिक कामदारलाई घर फर्किने अवसर

249
  •  
  •  
  •  

काठमाडौं । मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई त्यहाँको सरकारले बिहीबारदेखि घर फर्किने अवसर दिएको छ ।


अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफी दिएको हो ।
मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउनेछन् ।

भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ ।

कार्यक्रम अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली कामदारको लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

कामदारले स्वदेश फर्किनको लागि मलेसियन सरकारलाई जरिवानास्वरुप ७ सय रिंगिट र राहदानी नभएकाहरुले एकतर्फी यात्रा अनुमति पत्रको लागि १६० रिंगिट तिर्नुपर्ने हुन्छ ।

एकतर्फी यात्रा अनुमति पत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ । त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको ७ दिनभित्रको हुनुपर्नेछ । अध्यागमनमा जाँदा व्यक्ति स्वयं नै उपस्थित हुनुपर्ने जनाइएको छ ।


  •  
  •  
  •