मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न

68
  •  
  •  
  •  

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने बताइन् ।

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ । सुरुङमार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताइन ।

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए । उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए।


  •  
  •  
  •