कोरोनाले सम्झाइदियो बिर्सिएका गाउँ

529
  •  
  •  
  •  

जिन्दगी सँधै सिधा बाटो मात्र होइन रहेछ । कहिलेकाहिँ अप्ठ्यारा घुम्ती र मोडहरु पनि छिचोल्नुपर्ने रहेछ ।
आफ्नो हिसाबले आफूले सोचे जसरी मात्र जिवन चल्दोरहनेछ । सन्दर्भ कोरोना ।
मेलम्ची, यो नाम नसुन्ने सायदै कोही होला । पानीको पर्यायवाची शब्द भन्दा अत्युक्ति नहोला । कहिलेकाहिँ मेलम्ची सपना भनेर राजनीतिक गफको विषय सुनेको थिएँ । अहिले थाहा पाएँ, काठमाडौं बासीलाई पानी खुवाउने मेलम्ची सपना ।
नेपालमा २०४६ सालमा बहुदल आएसँगै व्यूतिएको सपना अहिले ३१ वर्षपछि साकार होला जस्तो छ । मेलम्ची भनेको बाँदर लड्ने भीर, पाखा होला जस्तो लाग्थ्यो मलाई । मैले मेलम्चीलाई यति नजिकबाट नियाल्न पाउँछु भनेर सपनामा पनि सोचेकी थिइन ।
कोरोनाले जुराएको अवसर हो यो मेरो लागि । कोरोना छल्न म पनि दुई महिनादेखि मेलम्चीमा छु । यहाँको दुई महिनाको बसाईँ मेरा लागि अविस्मरणीय रहेको छ ।
लक्ष्मी रेग्मी
गाउँप्रति हेर्ने मेरो दृष्टीकोणमा फरक आएको छ । गाउँ भनेको दुखैदुख मात्र हो जस्तो लाग्थ्यो । गाउँका मानिसहरु सँधै दु:खी हुन्छन् जस्तो लाग्थ्यो मलाई । म गलत रहेछु ।
अनुपम सुन्दरता ले सजिएको छ यहाँको प्रकृति । मेलम्ची खोलाको मनमोहक कलकल आवाज, विभिन्न खाले चराचुरुङ्गीको चिरबिर, हरियाली फाँटहरु, मेलम्ची झरना, हिमालबाट आउने शितल हावाले उजाड लागेको मन त्यसै रमाउँछ यहाँ ।
शहरमा लकडाउनमा निस्सासिएका छन् मानिसहरु । घरभित्र मात्र बस्नुपर्दा मानिसहरुमा मानसिक तनाब बढेको छ । मानिस एकलकाटे हुन थालिसके ।
बाहिर हिँड्डुल गर्नेहरुलाई प्रहरी प्रशासन लगाएर बन्द गराइएको समाचार सुनिन्छ । तर गाउँमा लकडाउन भनेको के हो जस्तो भएको छ । बिर्सिएका गाउँहरु सबैले सम्झन थालेका छन् ।
विदेशीएका छोराछोरी गाउँ फर्किएका छन् । शहरमा डेरा गरेर बसेकाहरु कुम्लोकुटुरो बोकेर आइपुगेका छन् । गाउँको रौनकै बढेको छ ।
गाउँमा चाडवाड आएजस्तो देखिन्छ । कुखुरा र खसी सकिन लागिसके । यहाँ मानिसहरु स्वस्थ्य छन् । शहरमा मानिसहरु पसिना बगाउन पैसा तिरेर फिट रहन जिम तथा फिटनेस सेन्टर धाउने गरेको देखिन्छ ।
यता भने बाँझो खेतमा परिवारका सदस्य मिलेर अन्नबाली लगाउँदा रहेछन् । श्रम गर्दा बगेको पसिनाले उनीहरुको ज्यान पनि बन्दो रहेछ पैसा पनि कमाइदो रहेछ । पारिवारीक मेल भर्चुवल दुनियाँमा सिमित भएको छ शहरमा । सायद घोप्टे युग भनेको यही हो ।
घरमा एउटा टीभी मात्र हुँदा परिवारका सबै मिलेर एउटै कार्यक्रम हेर्नुको छुट्टै आनन्द हुन्थ्यो । तर प्रविधिकको विकासले दास बनाइदिएको छ मान्छेलाई । खुशी भएको देखिन र देखाउने होडबाजी चल्छ सामाजिक सञ्जालमा ।
यहाँ मैले परिवार छरछिमेकमा अपनत्व पाएँ र आत्मीय भावना देखें । खुशी भएको देखिनु र वास्तवमै खुशी हुनुको तात्पर्य थाहा पाएँ । काफल र ऐंसेलु त शहरतिर डालोमा बेच्न ल्याएको बेला खाइएको पनि थियो । तर रुखमै चढेर बोटबाटै टिपेर धित मरुञ्जेल खादाँको बेग्लै मजा हुने रहेछ ।
खुशी जसलाई पैसाले किन्न सक्दैन जुन अमूल्य छ । म आएको दुई महिनामा हेर्दाहेर्दै गहुँ र आलु भित्र्याइसके यहाँ । धान र मकै हुर्किने क्रममा छन् । ट्राउट माछा फस्टाएको छ ।
किवि, अलइँची अर्गानिक कफि, विषाधि रहित आलु जस्ता नगदे बालीको राम्रो अवसर देखिन्छ । पानी प्रशस्त भएका कारण जे गरे पनि पैसा कमिने अवस्था छ ।
वास्तवमा कोरोनालाई एउटा पाठ सम्झिने हो अनि विदेशीएका पाखुरा र दिमागहरु आफ्नो थलो फर्कने हो भने हाम्रो नेपालमा पनि विकास हुनेथ्यो होला ।
सरकारको मुख मात्र ताकेर विकास पर्खिने हो भने त्यो कहिले सम्भव हुन्न । जबसम्म व्यक्ति व्यक्तिले आफ्नै माटोमुनि अवसरहरु छन् , विकासका सम्भावनाहरु हामीले नै खोतल्ने हो भन्ने कुरा बुझ्दैनन् तबसम्म विकास हुन गाह्रो छ ।
कति अवसरहरु छन् यहाँ अन्तरमनले खोज्न सके र रोज्न सके । आफ्नै जमिनमुनि अवसर र संभावनाको खानी छ । त्यसलाई पहिचान गर्ने क्षमताको कमी मात्र भएको हो । हामीमा कहिले आउने त्यो चेतना खै ?

  •  
  •  
  •