ज्याला माग्दा वडाध्यक्षले कुटे गाउँले मजदुरलार्इ

301
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : बाजुराका एक वडाका वडाध्यक्षले वडाले काम गराए बापत मजदुरले ज्याल माग्दा कुटपिट गरेका छन्। जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्ष कटकबहादुर विष्टले कुटपिट गरेका हुन्।

विद्युत् आयोजनामा काम गरेको ज्याला माग्दा वडाध्यक्षले कुटपिट गरेको स्थानीयवासीले बताएका छन्। वडाध्यक्ष भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन्।

‘जलविद्युत् निर्माण भएको लामो समय बितिसक्दा पनि चैतेदशैँ मनाउन ज्याला मागेको थिएँ,’ पीडितले भने, ‘यही विषयमा वडाध्यक्षले हातखुट्टा बाँधेर गोठमा थुनेर कुटपिट गरे।’

घटनाबारे जानकारी पाएपछि पिलुचौर प्रहरी चौकीबाट गएको टोलीले घाइते विष्टलाई उपचारका लागि जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। उनका अनुसार घाइते विष्टको घाउ केस फाराम भरिएको छ।

वडाध्यक्षले भने मदिरा सेवन गरी गाली गलौज गरेकाले हातखुट्टा बाँधेर प्रहरीलाई खबर गरेको बताएका छन्। आफूले कुटपिट नगरेको उनले दाबी गरे।


  •  
  •  
  •