चिनियाँ राष्ट्रपतिको भ्रमण : यातायात सम्पर्क सञ्जाल मुख्य एजेन्डा

का‌ंग्रेसको सुझाव : रेललाई प्राथमिकता नदिऊँ
63
  •  
  •  
  •  

काठमाडौँ, २३ असोज (ओएनस)। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा आज पूर्व प्रधानमान्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालवाटारमा छलफल गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण यही असोज २५ र २६ गते हुँदैछ ।

छलफलमा सरकारको तर्फबाट उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिइएको थियो भने सहभागी नेता एवं विज्ञहरुले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमणलाई ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न सुझाव दिए । सुझाव ग्रहणपछि प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रही आएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानी ढाँचाबारेसमेत छलफल गरिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्त्व दिन चाहन्छौँ ।’

प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको पनि बताए । विदेश तथा छिमेक मामिला सम्बन्धी नीतिमा नेपालले सन्तुलनका तीन आधार तय गरेर अघि बढेको प्रधानमन्त्रीले बताए । ‘राष्ट्रिय हित, सम्बन्धको न्यायोचितता र अन्तर्राष्ट्रिय विश्वसनीयता हाम्रो परराष्ट्र मामिलाको सन्तुलनका आधार हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विदेश मामिलामा हामी अहिले इतिहासकै सबैभन्दा बढी स्पष्टताका साथ अघि बढेका छौं, कुनै अस्पष्टता छैन ।’

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नेपालका लागि महत्त्वपूर्ण अवसर भएको बताउँदै भ्रमण सफलताको कामना गरे ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा सुझाव दिएका थिए ।

रेललाई प्राथमिकता नदिऊँ : का‌ंग्रेस

का‌ंग्रेस नेताहरुले भने रेलमार्ग निर्माणलाई प्राथमिकता नदिन सुझाएका छन् । छलफलपछि बाहिरिएका कांग्रेस नेता रामशरण महतले भने, ‘रेलमार्ग निकै महँगो परियोजना हो । यसको लागत नेपालले धान्न सक्दैन । ऋण लिएर बनाउने हो भने अर्को समस्या सिर्जना गर्छ । अनुदानमा बनाइदिने हो भने ठीकै छ तर ऋणमा बनाउने हो भने त्यसलाई प्राथमिकता दिन राष्ट्रिय हितमा हुँदैन ।’

भारत, अमेरिका लगायत देशले समेत नेपाललाई चिनियाँ बीआरआई परियोजना र यसअन्तर्गतका योजनाले नेपाललाई ऋणको पासोमा पार्न सक्ने र त्यसले सार्वभौमसत्ता समेत जोखिममा पर्ने भन्दै चिनियाँ रेललाई प्राथमिकता नदिन सुझाव दिँदै आएका छन् । अमेरिकी राजदूत र्यान्डी बेरीले त यसअघि नेपालका सबैजसो प्रभावशाली नेतालाई भेटेरै यस्तो सुझाव दिएका थिए ।


  •  
  •  
  •