भारतीय नागरिकबाट कुटिए सशस्त्रका दुई जवान

155
  •  
  •  
  •  

mahottari_districtमहोत्तरी, १३ असार (ओएनएस) : नेपाली भूमीमा भारतीय बस पार्किङ्ग गर्न नदिएको झोकमा भारतीय नागरिकाले महोत्तरीको मुख्य नाका भिठामोडमा सशस्त्र प्रहरीका दुई जवान कुटेका छन् ।

शनिबार राति पटना जाने अमरज्योती बसका दुई सहचालकले सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मी माथि हातपात गरेका हुन् । नेपाली सुरक्षाकर्मी कुटिदा दुई मिटर टाढा रहेका भारतीय सीमा सुरक्षा बल तथा बिहार पुलिस मुखदर्शक बनेका थिए ।

सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक धिरेन्द्र पाण्डेले नेपाली सुरक्षाकर्मी कुट्ने दुई जना भारतीय नागरिकलाई पहिचान गरी कारबाही गर्न भारतीय सीमा सुरक्षा बल र बिहार पुलिसका भिठामोड प्रमुखहरुलाई आग्रह गरिसकेको बताए ।

उनले भने, ‘ड्युटीमा रहेकाहरुसँग दुव्र्यवहार भएपनि हतियार खोस्ने प्रयास भएको छैन । यसबारे भारतीय पक्षलाई जानकारी गराईसकिएको छ ।’

सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले कुटाई खाने सुरक्षाकर्मी र कुटपिट गर्ने भारतीय बसका कन्डक्टर र सहचालकको नाम बताउन चाहेनन् । प्रत्यक्षदर्शीका अनुसार बसको पार्किङ्ग रोक्ने बेला अमरज्योती बसको शिशा फुटेपछि उनीहरु सशस्त्र प्रहरीमाथि खनिएका थिए ।

सशस्त्र प्रहरीले भारतीय सार्वजनिक साधनहरुलाई नेपाली भूमीमा पार्किङ्ग निषेध गरेपछि सम्बन्ध चिसिएको देखिन्छ ।


  •  
  •  
  •