कक्षा सञ्चालन नहुँदै ४ करोड झ्वाम

213
  •  
  •  
  •  

महोत्तरी, ९ चैत (ओएनएस) : महोत्तरीमा झण्डै चार करोड रुपैया खर्च भइसक्दासमेत सघन साक्षरता अभियान अन्तर्गतसाक्षरता कक्षा संचालन हुन सकेको छैन ।

जिल्ला शिक्षा कार्यालयले १५ देखि ६० बर्षभित्रका झण्डै एक लाख ६४ हजार जनतालाई साक्षर बनाउने योजना अनुसार काम भइरहेको दाबी गरेको छ । पाँच दिने सहजकर्ता तालिम, तीन दिने अनुगमनकर्ता तालिम, पाठ्यपुस्तक खरिद र ढुवानी, अभिमुखिकरण, मसलन्द खरिद सहितको काममा तीन करोड ८३ लाख खर्च भइसकेको स्रोतको दाबी छ ।

शिक्षा कार्यालयले नै आयोजना गरेको सहजकर्ता तथा अनुगमन तालिममा मान्छे जुटाउने जिम्मेवारी मात्रै दिइएको गैरसरकारी संस्थाहरुको आरोप छ । उनीहरुकाअनुसार तालिम सामग्री किन्नेदेखि सहभागीलाई खाजा खुवाउने र यातायात खर्च दिने काम समेत शिक्षा कार्यालय नै गरेको छ ।
सहजकर्ताको तालिमका लागि एक करोड ३४ लाख तथा अनुगमनकर्ताको तालिमका लागि ५९ लाख खर्चिएको हो । प्रत्येक कक्षामा एक जना सहजकर्ताले २० जनालाई साक्षर बनाउने तथा एक जना अनुगमनकर्ताले १० वटा कक्षाको अनुगमन गर्ने प्रावधान छ ।

साक्षरता कक्षा संचालनको जिम्मेवारी ४० वटा गाउँ बिकास समिति तथा जलेश्वर नगरपालिको चार वटा वडामा सामुदायिक अध्ययन केन्द्र तथा अन्यमा गैरसरकारी संस्थाहरुलाई दिइएको छ ।

जिल्लामा जलेश्वर, गौशाला र बर्दिवास नगरपालिकासहित ६८ वटा गाउँ बिकास समिति रहेपनि पूरानै संरचना अनुसार जलेश्वर नगरपालिकासँगै ७५ वटा गाउँ बिकास समितिलाई आधार मानिएको छ ।

जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले साक्षरता कक्षा नपढाउनेलाई पारिश्रमिक नदिइने बताए । सहजकर्ता र अनुगमनकर्ताको पारिश्रमिक तथा आन्तरिक अनुगमन र व्यवस्थापनको पाँच करोड ४५ लाख रुपैया खर्चिन मात्र बाँकि छ ।

महोत्तरीमा सघन अभियानको लागि नौ करोड २८ लाख रुपैयाको बजेट रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।


  •  
  •  
  •