महोत्तरीमा ‘रामभरोसे’ सघन साक्षरता अभियान

183
  •  
  •  
  •  

महोत्तरी, २५ माघ (ओएनएस) : महोत्तरीलाई साक्षर जिल्ला बनाउन अनौपचारिक शिक्षा केन्द्रको सहयोगमा शिक्षा कार्यालयले संचालन गरेको सघन साक्षरता अभियानमा सरकार र दातृ नियायको तथ्याङ्क फरक–फरक देखिएको छ । तथ्याङ फरक पर्दा सारक्षता अभियानको औचित्य माथि प्रश्न उठेको छ भने अभियान औपचारिकताको लागि मात्र गरिएको आवाज उठ्न थालेका छन् ।

बैशाख महिनासम्ममा एक लाख ६३ हजार ७९९ मानिसलाई साक्षर बनाउने दाबी जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार महोत्तरीको कूल जनसंख्या छ लाख २७ हजार ५८० मध्ये १५ देखि ६० बर्षसमूहको मानिस तीन लाख २९ हजार ४०७ छन् । सोही तथ्याङ्क अनुसार महोत्तरीमा ४६.४ प्रतिशत मानिस साक्षर छन् । सोही तथ्याङ्कलाई हेर्दा जिल्लाभर एक लाख ७६ हजार ६१२ मानिस निरक्षर छन् ।

  •  युनेस्कोको सर्वेक्षण २०६८ अनुसार १५ देखि ६० बर्षसमूहका एक लाख ६३ हजार ७९९ निरक्षर
  •  राष्ट्रिय जनगणना २०६८ अनुसार सो समूहका एक लाख २७ हजार ५८० निरक्षर
  • ईबर्षभित्रमा ४६ हजार मानिस(गैससको स्वयंसेवाबाहेक)लाई साक्षर बनाएको शिक्षा कार्यालयको तथ्याङ्क
  • बैदेसिक रोजगारमा रहेकामध्ये कम्तिमा ५० हजार निरक्षर
  •  शिक्षा कार्यालयले २०७१ मा १५ देखि ६० बर्षसमूहका एक लाख ६३ हजार ७९९ साक्षर बनाउँदै
  • किताब ७० हजारप्रति छपाइएको स्रोतको दाबी
  • सघन साक्षरताको बजेट नौ करोड २८ लाख

संयुक्त राष्ट्र शैक्षिक, बैज्ञानिक र सांस्कृतिक संगठन(युनेस्को)ले २०६८ सालमा जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरि शिक्षकहरुमार्फत गरिएको सर्वेक्षणमा जिल्लाभर एक लाख ६३ हजार ७९९ मानिस निरक्षर रहेको देखाइएको छ । शिक्षा अधिकारी कर्णले युनेस्कोको तथ्याङ्ककै भर नपरेर साक्षरता कक्षा संचालन गर्ने सामुदायिक अध्ययन केन्द्र तथा गैरसरकारी संस्थाहरुमार्फत संशोधन गरिरहेको जनाएको छ । हालसम्म महिला तथा पुरुषको यकिन निरक्षर तथ्याङ्क सार्वजनिक गरिएको छैन ।

शिक्षा कार्यालयले गत दुई बर्षभित्र अनौपचारिक शिक्षा केन्द्रकै सहयोगमा ४६ हजार मानिसलाई साक्षर बनाईसकेको छ । अनुदानबाहेक पनि त्यतिकै संख्याका मानिसहरुलाई स्वयंसेवामार्फत साक्षर बनाएको दाबी गैरसरकारी संस्थाहरुले शिक्षा कार्यालयमा गरेको देखिएको छ ।

बैदेसिक राजगार बिभागको तथ्याङ्क अनुसार बैदेसिक रोजगारमा सबैभन्दा बढी श्रमिक पठाउने महोत्तरी दोस्रो जिल्ला हो । यहाँबाट एक लाख मानिस बैदेसिक रोजगारका लागि ओहरदोहर गरिरहेका छन् । बैदेसिक रोजगारमा रहेकाहरुमध्ये पचास प्रतिशत निरक्षर रह्ने गरेको बैदेसिक रोजगारबाट फर्केका स्थानीय रंजन भण्डारीले बताए । अन्य रोजगारकै शिलशिलामा यस जिल्ला केही मानिसहरु भारत र नेपालकै विभिन्न ठाउँमा रहेका छन् । बिभिन्न रोजगारका बाहिर जाने समूह १५ देखि ६० बर्षभित्रैका छन् ।

स्रोतका अनुसार एक लाख ६३ हजार ७९९ मानिसलाई साक्षर बनाउने दाबी गरिएपनि पाठ्यसामग्री(किताब) ७० हजार प्रति मात्रै छापिएको छ । सघन साक्षरता अभियान संचालनका लागि महोत्तरीमा प्रति २० निरक्षरमा एउटा सहजकर्ता तथा १० सहजकर्तामा एक जना अनुगमनकर्ता खटाइएको छ । सहजकर्तालाई तीन महिनाको छ हजार तथा अनुगमनकर्तालाई सात हजार पाँचसय रुपैया पारिश्रमिक दिने जनाइएको छ । सघन साक्षरता अभियान संचालन गर्न जिल्ला शिक्षा कार्यालय महोत्तरीले नौ करोड २८ लाखभन्दा बढी बजेट बिनियोजन गरिएको छ ।


  •  
  •  
  •