महोत्तरीमा कार्यविधि विपरीत सीसीटिभी क्यामेरा जडान

621
  •  
  •  
  •  

Mahottari DAO CCTV Information महोत्तरी, २२ पुस (ओएनएस) : महोत्तरीमा सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७२ विपरीत सीसीटिभी क्यामेरा जडान गरिएको पाइएको छ ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न भन्दै सरकारले सीसीटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ लागू गरेपनि महोत्तरीमा अहिलेसम्म कुनै पनि संघसंस्था तथा सार्वजनिक निकायले सीसीटिभी जडान गरेको बारे प्रशासनलाई जानकारी दिएका छैनन् ।

सीसीटीभी सञ्चालनका लागि प्रशासनमा निवेदन दिनुपर्ने व्यवस्था भएपनि अहिलेसम्म कसैले पनि निवेदन नदिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । मागकर्तालाई सूचना अधिकारीले उपलब्ध गराएको सूचनामा ‘अहिलेसम्म अबैध रुपमा सीसीटिभी क्यामरा जडान गर्नेलाई अहिलेसम्म कारबाही नभएको तथा अगामी दिनमा अनुगमन गर्ने’ उल्लेख छ ।

सीसीटिभी जडान तथा सञ्चालन सम्बन्धि कार्यविधि २०७२ ले यसको प्रभावकारिता लागि जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी दिएको हो ।

कार्यविधिको प्रभावकारिता सम्बन्धमा अभियन्ताहरु टंक अर्याल, जितेन्द्र पासवानसहितका तीन जनाले मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म कुनै कार्यालय, संघसंस्था एवं व्यक्तिले सिसिटिभी जडानका लागि अहिलेसम्म निवेदन नै नदिएको जानकारी पत्रमार्फत् दिएको छ ।

सदरमुकाम जलेश्वरसहित मुख्य मुख्य ठाउँहरुका केही सरकारी कार्यालय, बित्तिय संस्था, व्यापारिक प्रतिष्ठान, पसल, ब्यक्ति तथा संघसंस्थाले कानून बिपरीत सिसिटिभी÷क्यामरा जडान गरि अबैध रुपमा प्रयोगमा ल्याएको देखिन्छ ।

सूचना मागकर्ताको निवेदन दर्ता एवं उपलब्धताको तथ्यांक छुट्टै रजिष्टरमा नराखिएपनि १५ दिनभित्रमै सूचना अधिकारी रमेश अधिकारीले प्रशासकीय अधिकृतको हैसियतमा सूचना उपलब्ध गराएको हो । जिल्ला प्रशासन कार्यालयले लिखित रुपमा पहिलोपटक सूचना उपलब्ध गराएको अभियन्ता जितेन्द्र पासवानले बताए ।


  •  
  •  
  •