महिलाः देवी पनि बोक्सी पनि !

91
  •  
  •  
  •  

हिन्दु धर्मावलम्बीहरुको महान् चाड विजयादशमी अर्थात् नवरात्री शुरु भइसकेको छ । स्त्री शक्तिको पूजा आराधना गरी मनाइने नवरात्री असत्यविरुद्ध सत्यको जित भएको उपलक्ष्यमा मनाइन्छ ।

लोग्शरी कुँवर

अन्यायविरुद्ध लडेर विजय प्राप्त गरेका नौ देवीहरुको सम्मानस्वरुप स्तूति गाएर मनाइने नवरात्री महिलाको विरताको प्रतिक मानिन्छ ।

तर विडम्वना स्त्री अर्थात महिलालाई देवी मान्ने समाजका केही धामी झाँक्रीहरुले तीनै शक्ति स्वरुपा स्त्रीलाई भने कथित बोक्सी आरोप लगाउँछन् । यातना दिन्छन् । गाउँ निकाला गर्छन् र ज्यानै लिनेसम्मका आततायी, अमानवीय, क्रूर घटना घटाउँछन् । जुन हिन्दु धर्म र नेपाली समाजको सबैभन्दा कुरुप पक्ष हो । प्रथाभित्रको कुप्रथा हो ।

घटना १
कैलालीकी ६० वर्षीया राजकुमारी राना श्रीमान, ४ छोरा २ बुहारी, ३ नातिनी र एक नातिको संयुक्त परिवारसँँग खुसीसाथ जीवनयापन गर्दै आएकी थिइन् । परिवारको आर्थिक स्थिति राम्रै थियो । गाउँलेहरुसँग पनि कुनै दुस्मनी थिएन । तर २०६९ साल चैत २३ गते उनलाई आफ्नै देवरकी बुहारी निरा राना, धनसिंह राना, रामसिंह राना र रामकुमारी रानाले बोक्सी आरोप लगाए ।

बिहान ४ बजेतिर उनी सुतिरहेकी थिइन् । एक्कासी ढोकामा लात हानी ‘ए बोक्सी ! ढोका खोल्, बाहिर निस्क’ भनी कराएको आवाज सुनियो । उनका श्रीमानले आँत्तिदै ढोका खोले । ढोका खोल्नासाथ निरा राना र उनका देवरहरु मिलेर लछार–पछार गर्दै घरबाट घिसार्दै बाहिर निकाले ।

शरीरका सबै लुगा फुकालेर निर्बस्त्र बनाए । आँगनमा रहेको आँपको रूखमा हात बाँधे । ब्लेडले कपाल मुण्डन गरे । त्यसपछि शौचालयबाट दिसा ल्याई मुखमा कोच्याए, शरीरमा खन्याइदिए र योनीमा कैँची र लठ्ठी घुसाएर मरणासन्न हुने गरी यातना दिए ।

बिहान ७ बजेतिर कुटपिट गर्दै फेरि भल्मन्सा (थारु समुदायको अगुवा) को घरमा लगी निर्वस्त्र पारेर निर्घात कुटपिट गर्दा गाउँलेहरुको ठूलो भीड थियो । तर कसैले पनि त्यो ज्यादतीको बिरोध गरेनन् । त्यही भेलामा सबैका सामु निरा रानाले राजकुमारीमाथि अभियोग लगाइन्, ‘यो बोक्सी हो, यसैका कारण मेरो पेटमा भएका दुईवटा बच्चासमेत खेर गए । मेरा बच्चा यसैले खाई । यसलाई छोड्नु हुन्न ।’ निराले लगाएको अभियोगमाथि भेलामा कुनै छलफल भएन, कसैले प्रश्न उठाएनन् । गाउँकै बन्दी रानाले यसरी अन्याय किन गरेका ? भन्ने आँट गरे, तर उनीमाथि पनि हातपात र कुटपिट गरियो र उनको टाउको नै फुटाइदिए ।

घटनामा संलग्नहरुले यो घटना कसैले गाउँभन्दा बाहिर लगे राजकुमारीको जस्तै हालत बनाइदिने धम्की दिएका थिए । तर भोलिपल्ट संचार माध्यमबाट घटनाका बारेमा समाचार प्रकाशन÷प्रसारण भयो । प्रहरी घटनास्थल पुगेर राजकुमारीलाई उद्धार गरे र पीडक निरा राना र रामकुमारी रानालाई पक्राउ गरी हिरासतमा राखियो । सेती अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई मेडिकल कलेज बाँके रेफर गरियो ।

यो घटनाको एक वर्ष पहिले पनि उनीमाथि यस्तै घटना भएको थियो । बोक्सी आरोपमै उनलाई निरालगायतले कपडा खोलेर नाङ्गै बनाई गाउँ घुमाएका थिए । गाउँलेले घटना मिलाउन दवाव दिएपछि उनले सामाजिक बहिष्कार हुने डरले माफी दिएकी थिइन् ।

उनका छोरा दरवारी रानाका अनुसार बोक्सीको आरोपमा कुटपिट हुँदा उनको टाउकोमा लागेको चोटका कारण उनी पटक पटक बेहोस हुने, डराउने, काप्ने, तर्सिने गर्थिन् । त्यसकै कारण २०७२ मंसिर ११ गते उनको निधन भयो ।

उनलाई यातना दिने मध्ये निरा र रामकुमारीले एक वर्षको जेल सजाय भुक्तान गरि घर फर्किए भने धनसिंह र रामसिंह राना भने अझै फरार छन् ।

घटना २

वि.सं. २०५८ सालमा महोत्तरी जिल्लामा बोक्सी आरोपको आश्चर्यजनक तर लज्जास्पद घटना भयो । झाँक्रीको रुपमा मानिदै आएका एक व्यक्तिले दिएको मन्त्रयुक्त प्रसाद खुवाएर बोक्सी पत्ता लगाउन गाउँ भरिबाट १ सय ५ महिलालाई खुल्ला चौरमा जम्मा गरियो । ती मध्ये १३ जना महिलामा बोक्सीको लक्षण देखिएको घोषणा गरियो । झाँक्रीले गोप्य तरिकाले १३ जनासंग १०–१० हजार घुस मागे । बोक्सी आरोपबाट जोगिन १२ जना महिलाले रकम बुझाए । तर गरिव अवस्थाकी मरनीदेवीले त्यति ठूलो रकम बुझाउन सकिनन् । उनलाई १० हजार ऋण दिन गाउँले कसैले पत्याएनन् । अन्ततः झाँक्रीले उनलाई नै बोक्सी घोषित गरिदिए र उनीमाथि गाउँलेबट अमानवीय व्यवहार भयो । उनी गाउँलेको नजरमा बोक्सी साबित भइन् ।

घटना ३

अन्धविश्वासकको जरो मानिने बोक्सी आरोपका घटना प्राय शिक्षा र चेतनाले नछोएको विकट गाउँमा हुन्छ भनिन्छ । तर राजधानीको मुटु मानिने काठमाडौंको भिमसेनस्थानमै एक महिलालाई बोक्सी भन्दै पन्युँ तताएर डामियो ।

२०७५ चैत्र १२ गते स्थानीय रश्मी उपरकोटीलाई भिमसेनस्थानमा झारफुक गरेर बस्ने ‘स्वघोषित माता’ कविता श्रेष्ठले यो त ‘बोक्सी रहिछ’ भन्दै कूचोले हिर्काउँदै पन्यु तताएर डामिन् ।

४३ वर्षीया कविताका श्रीमान्को घर मोरङ्ग हो । उनी भिमसेनस्थानमा छोरीको साथमा बस्थिन् । कविता लेखपढ गर्न जान्दिनन् ।

रश्मी उपरकोटीको डेरा पनि भिमसेनस्थानमै छ । फागुन १२ गते उनी देवर–देउरानीको कोठामा गएको अवस्थामा देउरानीका ३ महिने छोराले दूध खान मानेनन् । उनलाई सञ्चो थिएन । त्यतिबेला रश्मीलाई डर लाग्छ, उनको शरीरमा डरका कारण सामान्य कम्पन हुन्छ ।

त्यति नै बेला माता (कविता श्रेष्ठ) को बहिनी–ज्वाईं, छोरीलगायत चारजना आएर रश्मीलाई धामीकोमा लैजानु पर्छ भन्दै माताको डेरामा पुर्याए । जहाँ माताको आवरणमा रहेकी कविताले ‘यो त बोक्सी रहिछ’ भन्दै कूचोले शरीरको विभिन्न भागमा हिर्काउँन थालिन् । अनि धुप सल्काएर नाक र मुखमा पोल्दै यो बोक्सी नै हो, यसले पहिला पनि छोरा खाई, देवरको छोरा पनि बिरामी बनाई भन्दै छोरी र बैनीलाई तीनटा पन्युँ तताउन लगाईन् । त्यहाँ भएका सबैले तातेको पन्युँले पालैपालो उनको गाला, छाती तथा शरीरका संवेदनशील अंग डामे ।

रश्मीको उजुरी पछि पक्राउ परेकी कविता (माता) ले बाटेको धुप सल्काएर धुपौरामा राखेको अवस्थामा रश्मीले आफूलाई झम्टेपछि देउताले छोपेको र सोही अवस्थामा कुटपिट गरेको प्रहरीसँग बयान दिइन् ।

घटना ४

गत वर्ष काठमाडौंको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई बोक्सी कबुल गराउन माताले यातना दिइन् । ‘धर्तीमाता’को नामले परिचित विष्णु कुँवरले २०७६ असार ५ गते भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीलाई बोक्सी कबुल गराउन शारीरिक र मानसिक यातना दिँदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि माता पक्राउ परिन् । राजधानीको मुटु, सिंहदरबारकै अगाडि रहेको भद्रकाली मन्दिर परिसरमा सयौं मान्छेको भिड र प्रहरीकै सुरक्षा घेराभित्र युवतीलाई टाउको र गालामा थप्पड हान्दै बोक्सी कबुल गराएको भिडियो सार्वजनिक भएको थियो ।

बुटवलबाट मठ मन्दिर दर्शनका लागि आएकी माताले भिडियोमा युवतीलाई ‘तँ को होस्, छिटो निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेकी थिइन् । यसो भनिरहँदा उनले युवतीको टाउको र गालामा थप्पड हानिरहेकी थिइन् । युवती भने आमा भन्दै रोइकराई गरिरहेकी छन् ।

तर माताको यातना पाएकी युवती को हुन् भन्ने बारे खुल्न सकेन । न त उनले माताविरुद्ध उजुरी नै गरिन् । पीडित भनिएकी युवती नै सम्पर्कमा नआएको र खोज्दासमेत नभेटिएको भन्दै प्रहरीले मातालाई ३० हजार धरौटीमा रिहा गरिदियो ।

कथित बोक्सी आरोपमा भर्खरकी युवती देखी वृद्धावस्थाका महिलालाई सामूहिक रुपमा यातना दिइएका यी त उदाहरणीय घटना मात्रै हुन् । आजको वैज्ञानिक युगमा पनि बोक्सी हुन्छ र यीनले मान्छे खान्छन्, अरुलाई हानी नोक्सानी गर्छन् भन्ने अन्धविश्वास पालेका मान्छेहरुले बोक्सी आरोपमा आफ्नै आमा, सासू, छिमेकीलगायतका महिलामाथि क्रूर व्यवहार गरेका घटना थुप्रै छन् ।

आफू सधैं बिरामी परिरहने र सोही क्रममा धामीझाँक्री कहाँ जारफुक गराउन जाँदा सासू नै बोक्सी रहेको बताएपछि २०७५ भदौ २ गते दाङको दङ्गीशरण गाउँपालिका–३ की ६९ वर्षीया खोपी रावतलाई आफ्नै बुहारी टङ्की रावतले बोक्सी आरोपमा हत्या गरिन् ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–९ पत्थरगाढाकी ५३ वर्षीया जसोधियादेवी यादवलाई उनकै भतिजा सोही ठाउँका ३५ वर्षीय कमलदेव यादव र निजकी पत्नी २५ वर्षीया सीतादेवी यादवले बोक्सी आरोपमा कुटपिट गरे । तर विडम्वना बोक्सीको आरोपमा ठूली आमा कुटपिट गर्ने व्यक्ति स्वयम् प्रहरी भएका कारण प्रहरीले उजुरी नै दर्ता गर्न अस्वीकार गर्यो ।

२०७४ साल जेठमा सिराहाको कर्जन्हा नगरपालिका–७ की ८० वर्षीया बृद्धा खजनीदेवी कारकलाई आफ्नै परिवारले बोक्सीको आरोप लगाई घर निकाला गरे ।
२०७४ असोज ७ गते अरुको अधिकारका लागि लड्ने विरगञ्जकी राजकुमारी उपाध्यायलाई बोक्सी आरोपमा आफ्नै छिमेकीले कुटपिट गरे । कुटपिटकै कारण राम्रो उपचार नपाउँदा उनको ज्यान गएको घटनाले देवीस्वरुप पूजिने महिला कथित बोक्सी आरोपमा मारिनुपर्ने विडम्वना नेपाली समाज र हिन्दु धर्मभित्रको अँध्यारो पाटो हो भन्छन्, अन्धविश्वासविरुद्ध कलम चलाइरहेका मानववादी रामदेव पाण्डे ।

आजको वैज्ञानिक युगमा मान्छेद्वारा मान्छेमाथि गरिने यी र यस्ता लज्जास्पद घटनाले नेपाली समाजमा चेतनाको स्तर कहाँ छ भन्ने कुरालाई उजागर गरेको उनको भनाई छ । ढुंगाका देवी पूज्ने, साँच्चिका देवी अर्थात महिलाको अपमान गर्ने ढोंगी मान्छेहरुभित्र लुकेको अन्धविश्वास नहटेसम्म महिलामाथिको बर्बरता नसकिने उनको बुझाई छ ।

अधिवक्ता तथा अधिकारकर्मी शशी बस्नेत महिलालाई एकातिर देवी मान्ने अनि अर्कातिर बोक्सी भन्दै यातना दिनु, ज्यान मार्नु भनेको मानव समाजलाई कलंकित पार्ने दुस्प्रयास भएको बताउँछिन् । उनी भन्छिन्, “महिला देवी पनि होइनन् । बोक्सी पनि होइनन् । महिलालाई केवल मान्ने हो र त्यही अनुसार व्यवहार गर्ने हो भने बोक्सी आरोपजस्ता मानवीय सभ्यतामाथि प्रश्न उठाउने गलत काम कोही कसैबाट हुन्न ।”

बोक्सी आरोपका घटना बढ्दै

बोक्सी आरोपमा कसुर गर्नेलाई कारबाही गर्न २०७२ मा ‘बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ बनेर लागू भइसकेको छ । तर घटना भने नियन्त्रण हुन सकेको छैन । ऐनले बोक्सी आरोप लगाउनेलाई फौजदारी कसुर माने पनि नेपाल प्रहरीको तथ्यांक अनुसार यस्ता घटनाहरू बढेको देखिन्छ ।

नेपाल प्रहरीका अनुसार कोरोना महामारीका कारण भएको बन्दाबन्दीको अवधिमा पनि महिलामाथि बोक्सी आरोपमा यातना हुने क्रम हटेन । २०७६ चैत्र ११ गतेदेखी २०७७ साउन ११ गतेसम्म मात्रै नेपालमा १० जना महिलामाथि बोक्सीको आरोप लाग्यो । सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ६ जना महिलाले बोक्सी आरोपमा यातना भोगे ।

नेपाल प्रहरीको ९ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ मा बोक्सी आरोपका घटना भए ।

२०७४/७५ मा मात्रै ४८ जनाले बोक्सी आरोप खेपेका छन् । जुन आव ७३/७४ भन्दा दोब्बरले बढी हो । आव ७३/७४ मा बोक्सी आरोपका २४ वटा घटना घटेका थिए । यस्तै आव २०७५/०७६ मा ४३ जना र ०७६/०७७ मा ३४ जना महिलालाई बोक्सी आरोपमा यातना दिइयो ।

आर्थिक वर्ष ०७२/७३ मा २८ वटा बोक्सी आरोपका घटना घटेका थिए भने आव ०७१/७२ मा ४२, आव ०७०/७१ मा ३९, आव ०६९/७० मा २८, आव ०६८/६९ मा ३५, आव ०६७/६८ मा ३९ र ४ वटा घटना घटेका थिए ।


  •  
  •  
  •