‘महिलाको हक, अधिकार, समानता, सशक्तिकरणका लागि पूर्ण सम्वेदनशील भईरहन प्रेरणा मिलोस्’

530
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

१०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेकी छिन्।

भण्डारीले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छिन्।

राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ ।’

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिको भनाइ छ।

यसै सन्दर्भमा उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताए। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताएका हुन् ।

उपराष्ट्रपतिको सन्देशमा भनिएको छ,‘जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ। संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुसीको कुरा हो। संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु।’

संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको उनको भनाइ छ। उपराष्ट्रपतिले आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गरेका छन्।
यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। उनले आज एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो। कांग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ। महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’

नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति उच्च सम्मान प्रकट गरेका छन्। उनले आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र सम्वर्द्धनका लागि पनि महिला दिदीबहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास व्यक्त गर्दै दिवसको शुभकामना व्यक्त गरेका छन्।‍

सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो औँल्याएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताएका छन् ।


  •  
  •  
  •