छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई निर्देशन

427
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : महिला तथा सामाजिक समितिले समाजमा व्याप्त रहेको कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ ।

फाइल तस्बिर

समितिको बिहीबारको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे निर्देशन दिने निर्णय गरेको हो ।

निर्णयमा देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कारको विस्तृत अध्ययन गरी सूची तयार गर्ने तथा न्यूनीकरणका लागि स्पष्ट कार्यदिशा एवं रणनीति बनाई कार्यान्वयन गर्न गराउन समितिको मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने रहेको छ ।
सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथालाई निर्मूल गर्न तत्काल स्थानीय तहसँग सहकार्य गरी दुई महिनाभित्र परिणाम आउने गरी काम गर्न गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने, सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट भएको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन प्रभावकारी कार्यान्वयन गर्न, गराउन र त्यसबारे कार्यप्रगति मासिक रुपमा उपलब्ध गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

छाउपडीलगायतका कुरीति, कुप्रथा, कुसंस्कार अन्त्यका लाग कार्यरत गैरसरकारी संस्थाको कार्य मूल्याङ्कन गरी स्थान विशेष एउटा निकायलाई एउटा कार्य तोकी कार्यसम्पादन गर्ने गराउन पनि समितिले निर्देशन दिएको छ ।

बैठकले आगामी वर्षलाई कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्षको रुपमा मनाउन सकिने वा नसकिने सम्बन्धमा एक हप्ताभित्र समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।
बैठकमा मन्त्री थापाले समितिले दिएको निर्देशनानुसार देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कार न्यूनीकरणका लागि काम गर्ने र योजना बनाएर स्थानीय तहसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

समिति सभापति निरुदेवी पालले सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट स्थलगत अध्ययन प्रतिवेदन मन्त्री थापालाई बुझाउँदै त्यसको उचित कार्यान्वयन गर्न आग्रह गरिन् ।


  •  
  •  
  •