काठमाडौं २९ भदौ ।
नवनियुक्त उद्योगमन्त्री एवं युवासंघका अध्यक्ष महेश बस्नेतले आफूविरुद्ध र युवासंघविरुद्ध टिप्पणी गर्नेहरुले पछुताउनुपर्ने दिन आउने बताएका छन् ।
उद्योगमन्त्री भएलगत्तै सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति असन्तुष्टि राख्दै उनले सहतमा आएका कुरालाई लिएर अन्याय नगर्न आग्रह गरे । ‘महेश बस्नेत र युवासंघविरुद्ध टिप्पणी गर्नेहरुले एकपटक सोच्ने कि कतै हामीले अन्याय त गरेका छैनौं,’ राजधानीमा शनिबार आयोजित कार्यक्रममा बस्नेतले भने, ‘त्यस्ता साथीहरुले एकदिन पक्कै पनि पुर्पुरोमा हात राखेर पछुताउनुपर्ने दिन आउनेछ ।’
बस्नेतले आफूले पाएको जिम्मेवारी कसैको चाकडीले प्राप्त नभएको उल्लेख गरे । ‘हामीले लडेर योग्यता र क्षमताअनुसार जिम्मेवारी पाउनुपर्छ भनेर स्थापित गरेको मान्यता हो यो,’ उनले भने, ‘चाकडी र चाप्लुसीमा मेरो र युवासंघको विश्वास छैन ।’ बस्नेतले ‘सुझाव मास्टरहरु’ले दिने आवश्यक सुझावमात्र लिने बताए ।
बस्नेतले आफू पदमा रहँदा स्वार्थका लागि काम नगर्ने प्रतिबद्धता जनाए । ‘मेरो घर भक्तपुर हो । आफ्नै घर छ । दुई चार रोपनी जग्गा छ । अब मलाई स्टान्डर्ड मेन्टेनका लागि खेलोमेलो गर्नुछैन,’ उनले भने, ‘नेकपा एमालेको र युवासंघको शीर निहुरिन दिनेछैन ।’
मन्त्री रहुन्जेल कुनै आर्थिक लोभलालच र विदेश भ्रमणका नाममा राज्यको एक पैसा पनि खर्च नगर्ने उनले बताए । ‘नेपालको समृद्धि हुनेबाहेकका कुनै पनि विदेश भ्रमण गर्ने छैन, समुद्र हेर्ने रहर छैन, रेल चढ्ने रहर छैन,’ उनले भने, ‘सेवा, सुविधा, स्रोत र सानतिर आकर्षित छैन । मेरो त्यतातिर ध्यान छैन ।’
बस्नेतले आफू ‘लो प्रोफाइल’मा बसेर काम गर्ने उल्लेख गरे । ‘मेरो बारेमा मिडियाका साथीहरुले जुन खालका भ्रम पाल्नुभएको छ,’ उनको भनाइ थियो, ‘म र युवा संघले जे हो त्यहि कुरा बाहिर लगिदिनुस्, हामी जे होइनौं त्यो बाहिर नगरिदिनुस् भन्ने आग्रह छ ।’
एमालेका नेताहरुको बानी बिग्रिएको छ
बस्नेतले एमालेका नेताहरुको बानी बिग्रिएको टिप्पणी गर्दै सामाजिक काममा उदाशित हुँदै गएको बताए ।
‘एमालेका नेता कार्यकर्ताको बानी पनि बिग्रिएको छ । पहिले सडकका कुरा लिएर आउनुहुन्थ्यो, विद्यालयका कुरा ल्याउनुहुन्थ्यो, सामाजिक कुरा ल्याउनुहुन्थ्यो,’ उनले भने, ‘अहिले, मेरो मान्छेलाई पुलिसमा सरुवा गरिदिनुपर्यो, बढुवा गरिदिनुपर्यो, स्पेशल कोटामा मिसनमा पठाउनुपर्यो भन्छ । एमालेको कार्यकर्ता पंक्तिले सामाजिक काम छाडिसक्यो, निजी काम बोकेर हिंड्छ ।’
बस्नेतले युवासंघ कार्यकर्तालाई व्यक्तिगत कुरा आफूसँग नल्याउन आग्रह गरे । ‘सामाजिक कुरा लिएर आउनुस्, राष्ट्रिय हितका कुरा ल्याउनुस्,’ उनको आग्रह थियो, ‘व्यक्तिगत कुरा लिएर नआउनुस् ।’
ओलीको ‘सस्पेन्स’ खनालले खोलिदिए
बस्नेतले आफूले मन्त्री भएको कुरा ढिलोमात्र थाहा भएको बताए । ‘म ललितपुरमा युवा संघको अधिवेशनमा थिएँ । केपी ओली कमरेडले जरुरी निर्णय गर्नुपर्ने भो आउनु भन्नुभयो । पानी परिरहेको थियो । बाटोमा जाम थियो । जेएन -झलनाथ खनाल) कमरेडको फोन आयो । बधाई छ भन्नुभयो । मैले किन कमरेड भनेँ । उहाँले तपाईंलाई उद्योग मन्त्रीको जिम्मेवारी दिइएको छ भन्नुभयो,’ उनले स्मरण गरे, ‘पछि बालकोट पुग्दा ओली कमरेडले मिडियामा आइसक्यो तपाईंले मिस गर्नुभयो भन्नुभयो ।’
कार्यक्रममा एमाले बरिष्ठ नेता खनालले पनि युवाहरुलाई उद्यमतिर लगाउन नै बस्नेतलाई उद्योगमन्त्री बनाइएको बताए । कान्तिपुरबाट
Comments are closed.