कसरी बने ठाकुर ज्येष्ठ सदस्य ?

298
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन : नागरिकतामा रहेको मितिका आधारमा राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवको उमेर ८० वर्ष छ । तर उनी जन्मेको ६३ वर्ष मात्र भयो । नागरिकता बनाउँदा त्रुटि भएकाले कानुनी रूपमा उनको उमेर ८० वर्ष देखियो । कान्तिपुरमा खबर छ।

सरकारी कामकाज व्यक्तिको अनुहार हेरेर हुँदैन । कानुनी आधार पहिल्याउँदा यादवको उमेर ८० वर्ष हुने देखिएपछि संसद् सचिवालयले ज्येष्ठ सदस्यका रूपमा उनैबाट शपथग्रहण गराउने तयारी गर्‍यो ।

सचिवालयले पहिले यादवलाई नै शपथ गराउन राष्ट्रपति कार्यालयलाई खबर गरेको थियो । सचिवालयको तयारीअनुसार राष्ट्रपति कार्यालयले पनि तयारी बढायो । शनिबारबाट यादवको उमेरको विषय धेरै आलोचनात्मक बन्न पुग्यो । प्रधानमन्त्री ओलीले नै एमाले र माओवादी संसदीय दलको संयुक्त बैठकमा ‘आफूले भाइ भन्दै आएका व्यक्तिलाई ज्येष्ठ सदस्य मानेर शपथ लिनुपर्ने अवस्था आएको भन्दै जन्ममितिबारे सार्वजनिक रूपमा असन्तुष्टि जनाए । ‘एउटा मात्र जन्ममिति भएको त म मात्रै रहेछु’ भन्दै ओलीले व्यंग्य गरे ।

प्रधानमन्त्रीबाटै यस्तो टिप्पणी आएपछि अन्य नेताहरूले पनि यो विषयलाई गम्भीर रूपमा लिए । यादव स्वयंले पनि ज्येष्ठ सदस्यका रूपमा शपथ गराउन जानु हुँदैन भन्ने महसुस गरे । ‘कानुनी रूपमा त शपथ गराउने मेरो अधिकार थियो, राष्ट्रपति कार्यालयबाट पनि खबर आएको थियो,’ यादवले कान्तिपुरसँग भने, ‘तर म जनताको प्रतिनिधि भएको हैसियतले नागरिकतामा भएको त्रुटिलाई आधार मानेर मैले सार्वभौम संसदको गरिमा घटाउनु हँ‘दैन भन्ने महसुस गरें ।’

प्रधानमन्त्री ओलीले आइतबार बिहान राष्ट्रिय जनता पार्टीकै अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा झन्डै दुई घण्टा कुराकानी गरे । राजपालाई सरकारमा आउन आग्रह गर्दै उनले ज्येष्ठ सदस्यको विषयमा पनि ठाकुरको ध्यानाकर्षण गराए । राजपाभित्र पनि ठाकुर नै ज्येष्ठ सदस्यका रूपमा शपथ गराउन योग्य भएकाले यादवलाई अनुपस्थित गराउने अनौपचारिक सहमति भयो । त्यसका आधारमा यादवले संसद् सचिवालयलाई आफू उपस्थित हुन नसक्ने र अर्कोव्यक्तिलाई ज्येष्ठ सदस्यका रूपमा शपथ लिने व्यवस्था मिलाउन अनुरोध गरे । त्यसपछि७५ वर्षीय ठाकुरलाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउन सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी गरायो । ठाकुरले राष्ट्रपति कार्यालय पुगेर शपथ लिए ।

‘घरमा नागरिकता टोली आएर बसेको थियो, दाइहरूले सबैको नागरिकता बनाइदिने क्रममा मेरो पनि बनाइदिनुभएको हो, जन्ममिति निकै फरक पर्न गएछ,’ यादवले भने, ‘म कतै नोकरी गर्न गइनँ । त्यसैले सुरुमा मैले नागरिकताको जन्ममिति जति भए पनि खासै मतलब राखिनँ ।’ सांसद, मन्त्री भएपछि सार्वजनिक पदमा पुगेको व्यक्तिको नागरिकता र वास्तविक जन्ममिति धेरै फरक पर्नु ठीक हुँदैन भन्ने महसुस यादवलाई भयो । त्यसपछि उनले नागरिकता सच्याउन पहल पनि गरे । ‘मैले सच्याउन पहल गरें तर एक पटक बनाएको नागरिकता फेरि फरक–फरक जन्ममिति बदल्न मिल्दैन भन्ने कुरा आयो । अनि मैले पनि छाडिदिएँ,’ सांसद यादवले भने, ‘मेरोजस्तो समस्या अन्य धेरै व्यक्तिलाई भएको हुन सक्छ, यसमा सरकारले ध्यान दिनु आवश्यक छ ।’ यादवले सोमबार ठाकुरसँग शपथ लिनेछन् ।


  •  
  •  
  •